माेदीसँगकाे भेटवार्तामा उपराष्ट्रपति र प्रचण्डले मात्रै उठाए सिमाका कुरा

माेदीसँगकाे भेटवार्तामा उपराष्ट्रपति र प्रचण्डले मात्रै उठाए सिमाका कुरा


काठमाडौं- दुई दिने औचापरिक भ्रमण सकाएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार अपरान्ह स्वदेश फर्किएका छन् । नेपाल भ्रमण रहँदा मोदीको आलोचना त भइरह्यो नै उनीसँग नाकावन्दी, सिमा समस्या लगायतका विषयमा धारणा नराखेको भन्दै नेपाली नेताहरुको पनि आलोचना भएको छ ।

सार्वजनिक कार्यक्रम तथा दुई पक्षीय भेटहरुमा अन्य नेताहरुले नाकाबन्दी र सिमा समस्याका बारेमा प्रष्ट धारणा नराखे पनि उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ र नेकपा –माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्पष्ट धारणा राखेका छन् । नाकाबन्दीको क्रममा आपूर्तिमा भएको अवरोध स्मरण गराउँदै उनीहरुले सिमा समस्या गम्भीर रुपमा उठाएका छन् ।

सैनिक मञ्च टुंडिखेलमा गार्ड अफ अर्नर लिएर उपराष्ट्रपतिलाई भेट्न बहादुर भवन पुगेका मोदीलाई उपराष्ट्रपति पासाङले सबै भन्दा पहिले स्वागत गरे, मोदीको भ्रमणले नेपाल र नेपाली जनता अत्यन्त खुशी भएको बताए । अन्य विषयहरुको चर्चा गर्दै उपराष्ट्रतिले मोदीलाई स्पष्ट भाषामा भने, ‘खुला सीमाना भएका दुई छिमेकी राष्ट्रबीच केही सीमा सम्बन्धी समस्या हुनु स्वभाविकै हो । यो समस्या समाधानका लागि सीमा स्तम्भ निर्माण गर्ने लगायतका विषयहरु अगाडी बढेकोमा खुशी लागेको छ । यो छिट्टै भरपर्दो र विश्वसनीय ढंगले सम्पन्न हुने अपेक्षा लिएका छौं ।’

उपराष्ट्रपतिले नेपालले भारतबाट ठूलो व्यापार घाटा व्यहोरिरहेको उल्लेख गरेपछि भारत भौगोलिक रुपमा विशाल भएको, उर्वर भूमी धेरै भएको तर नेपालमा उर्वर भूमी कम भएको, त्यसमा पनि बसाईं सराई, बाढी, पहिरो, डुबानका समस्या भोगिरहेको भन्दै एक इन्च नेपाली भूमि मिच्न नदिने संकेत गरे ।

उपराष्ट्रपतिले मोदीसँगको भेटमा दुई पटक दोहो¥याएर भने, ‘नेपालले भारतसँग सुदृढ्, परिस्कृत, पारस्परिक, सौहार्द र समान राजनीतिक सम्बन्ध चाहन्छ ।’ त्यसै क्रममा उनले वस्तु निर्यातमा सहज पहुँच र व्यापार सन्तुलनको प्रसँग उठाए । उनले नाकाबन्दीतर्फ संकेत गर्दै मोदीलाई भने, ‘पारवाहन तथा आपूर्तिमा पटक पटक देखा पर्ने समस्या सधैको लागि समाधान चाहन्छ ।

कुराकानीको अन्त्यमा उपराष्ट्रपतिले मुक्तिनाथ र पशुपतिनाथले भारतीय प्रधानमन्त्री मोदी र उनका भ्रमण दललाई आशिर्वाद दिउन् भन्ने कामना पनि गरे ।

उपराष्ट्रपतिको कुरा सुनेका भारतीय प्रधानमन्त्री मोदीले नेपालको प्रशंसा गर्दै कुरा सुरु गरे । उनले त्यसपछि उपराष्ट्रपतिले राखेका धारणामाथि आफ्ना धारणा राखे । उनले विगतको बारेमा धेरै कुरा गर्न चाहेनन् । नेपालको समृद्धिका लागि भारत सधै साथ दिन तयार रहेको उल्लेख गरे ।
उनले पटक पटक नेपाल र भारत मिल्नुपर्ने बताए ।

‘भारत र नेपाल मिल्नु पर्छ, हामी जस्तो सुकै काम पनि गर्न सक्छौं ।’ उनले सिमा समस्या, आपूर्तिमा विगतमा देखा परेका समस्या लगायतका विषय सधैका लागि समाधा गर्न भारत तयार रहेको समेत उल्लेख गरेको भेटघाटमा उपस्थित नेपाली प्रतिधि मण्डलका एक सदस्यले जानकारी दिए ।