पर्यटनबाटै मुलुकको विकास गर्न सकिन्छ : मन्त्री अधिकारी

पर्यटनबाटै मुलुकको विकास गर्न सकिन्छ : मन्त्री अधिकारी


म्याग्दी-संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पर्यटनको माध्ययमबाटै मुलुकको दिगो विकास सम्भव रहेको बताएका छन् । म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि शुरु भएको ‘म्याग्दी भ्रमण वर्ष २०७५’ बेनीमा शुभारम्भ गर्दै उनले यस्ताे बताएका हुन् ।

पर्यटनको विकासको लागि सरकार पूर्व तयारीमा जुटेको भन्दै मन्त्री अधिकारीले नेपाल प्राकृतिक, धार्मिक, ऐतिहासिक र परम्परागत कला संस्कृतिमा धनी भएकाले तिनको संर्वधन गरी पर्यटक भित्र्याउन सके मुलुकको विकास र समृद्धि सम्भव हुने बताए ।

‘यहाँ कयौँ मनोरम पर्यटकीय गन्तव्य छन्, पूर्वाधार विकास र प्रचारप्रसार नहुँदा अहिले पर्यटक बढ्न सकेका छैनन्, अब सरकारले त्यसतर्फ ध्यान दिन्छ, पर्यटन विकासमा सरकार गम्भीर भएर लागेको छ’ उनले भने ।

सन् २०२० मा वार्षिक रुपमा १५ लाख पर्यटक भित्र्याउने घोषणा गरिएको उल्लेख गर्दै मन्त्री अधिकारीले सरकारले त्यो संख्या बढाएर २० लाख पर्यटक भित्र्याउने योजना सहित काम गरिरहेको बताए ।

उद्योग वाणिज्य संघ, बेनी नगरपालिका र पर्यटन बोर्डद्वारा संयुक्त रुपमा स्थापित पर्यटक सूचना केन्द्र उद्घाटन गर्दै उनले यस केन्द्रले जिल्लामा भित्रने पर्यटकलाई जिल्लाका गन्तव्यको बारेमा सूचना र सन्देश प्रवाह गर्न सघाउने विश्वास व्यक्त गरे । रासस