भारतीय सांसद आजादले मिथिलालाई भारतमा मिसाउन भनेपछि कांग्रेसले यसरी गर्‍यो भर्त्सना

भारतीय सांसद आजादले मिथिलालाई भारतमा मिसाउन भनेपछि कांग्रेसले यसरी गर्‍यो भर्त्सना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले ट्वीटमार्फत् दिएको अभिव्यक्तिको भत्र्सना गर्दै नेपालीको स्वाभिमानमाथिको ठाडो हस्तक्षेप भएको ठहर गरेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण (वैशाख २८–२९ ) को क्रममा आजादले ट्वीटमार्फत मोदीलाई सम्बोधन गर्दै मिथिला (जानकी मन्दिरसहित जनकपुर क्षेत्र) भारतको भएको भन्दै फर्काउन भनेका थिए।

उक्त अभिव्यक्तिको ब्यापक विरोध भइरहेका बेला कांग्रेसले सोमबार आधिकारिक धारणा सार्वजनिक गरेको हो।

कांग्रेसका मुख्यसचि कृष्ण पौडेलद्वारा जारी विज्ञप्तिमा आजादको भनाइप्रति भर्त्सना गर्दै आजादको उक्त भनाइ नेपालीको स्वाभिमानमाथिको ठाडो हस्तक्षेप भनेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा रहनुभएको बेला भारतीय सांसद कीर्ति आजादले नेपालको सम्बन्धमा आफ्नो ट्विटमार्फत् गरेको आपत्तिजनक अभिव्यक्तिप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकृष्ट भएको छ।’

उक्त ट्विटले दुई देशबीचको सम्बन्धमा गम्भीर असर पार्ने उल्लेख गर्दै कांग्रेसले अगाडि भनेको छ, ‘दुई देशबीच सदियौँदेखि रहँदै आएको सुमधुर सम्बन्धमा खलल् पुर्‍याउने अभिप्रायबाट आएको उक्त अभिव्यक्तिले नेपालको सार्वभौमसत्ता, स्वाधीनता, अखण्डता र नेपालीको स्वाभिमानमाथि ठाडो प्रहार गरेको छ।’

कांग्रेसले उक्त अभिव्यक्ति दुराशयपूर्ण भएको भन्दै नागरिकका लागि पनि सैह्य नभएको र यस सम्बन्धमा कूटनीतिक पहल चाल्नका लागि समेत सरकारको ध्यानाकर्षण गराएको छ।