बालुवाटार जग्गा प्रकरणः अदालतको म्याद तामेली गुजार्दै गच्छदार, बयान बिनै आदेश दिने तयारी

बालुवाटार जग्गा प्रकरणः अदालतको म्याद तामेली गुजार्दै गच्छदार, बयान बिनै आदेश दिने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले विशेष अदालतले दिएको म्याद तामेली गुजार्दै आएका छन् ।

गत फागुन २३ गते अदालतले गच्छदारको घरमा १५ दिने म्याद तामेली टाँस गरिए पनि उनी अझै अदालतमा उपस्थित भएका छैनन् । उनी एक वर्षदेखि विशेष अदालतको फरार सूचीमा रहेका छन् ।

विशेष अदालत काठमाण्डुले ललिता निवासको ११३ रोपनी जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्रीसमेत रहेका गच्छदारको सुनसरीस्थित निवासमा १५ दिने म्याद तामेली टाँस गरेको थियो ।

विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले म्याद तामेल भएको १५ दिन बित्दा पनि गच्छदार अदालतमा उपस्थित नभएको बताए । उनले १५ दिनभित्र गच्छदार अदालतमा उपस्थित नभए अदालतले बयान बिना आदेश दिने तयारी गरेको बताए ।

तेस्रो पटक ताकेता गर्दा पनि गच्छदार अदालतमा उपस्थित भएका छैनन् । गत वर्षको फागुनमा पहिलो पटक गच्छदारलाई विशेष अदालतले १५ दिनभित्र अदालतमा उपस्थित हुन निर्देशन दिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनले बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा बनाउन मुख्य भूमिका खेलेको आरोप लागेको छ ।

ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । गच्छदारले बालुवाटार जग्गा प्रकरणमा आफ्नो कुनै भूमिका नरहेको बताउँदै आएका छन् ।