दुध वितरण आयोजनालाई स्तरोन्नती गर्न मन्त्री खनालको चेतावनी

दुध वितरण आयोजनालाई स्तरोन्नती गर्न मन्त्री खनालको चेतावनी


विराटनगर- सरकारले दुध वितरण आयोजना (डिडिसी) विराटनगरले स्तरोन्नती नगरे सोच्न बाध्य हुने चेतावनी दिएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरी, सचिव युवकध्वज जिसीसहित अनुगमनमा गएका मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ले त्यसविरुद्ध सोध्न बाध्य हुने चेतावनी दिएका हुन् ।

सरकारले आगामी दुई वर्ष भित्र दुधमा आत्म निर्भर हुने गरी कार्ययोजना बनाए पनि डिडिसीको उत्पादन त्यसअनुसार नरहेको उनको भनाइ थियो । डिडिसी प्रविधिमा निक्कै पुरानो रहेको, व्यवस्थित हुन नसकेको भन्दै त्यसले अहिलेको मागलाई थेग्न नसक्ने उनको भनाई छ ।

‘जनताको जीवनस्तर जहाँ पुगेको छ, त्यसलाई हेर्दा धेरै सुधार गर्नु पर्ने देखिएको छ, मन्त्री खनालले भने । अनुगमनपछि पत्रकारसँग मन्त्री खनालले भने, ‘संस्था भित्र भ्रष्टाचार, अनियमितता र खरिदमा पनि पारदर्शिता छैन भन्ने गुनासो आएको छ, त्यसलाई राम्रोसँग अनुगमन गरिन्छ, र अनियमितताका बावजुत संस्था पनि घाटामा चलिरहेको छ भने त्यस्तो संस्थालाई बचाइ राख्न आवश्यक छैन ।’

सँधै घाटामा संचालन गर्ने भए बन्द गर्नु पर्ने होइन भने आन्तरिक समस्या समाधान गरेर अघि बढ्नुको बिकल्प नरहेको उनले बताए । दुधमा आत्मनिर्भर हुन सक्ने सम्भावना हुँदाहुँदै पनि बाहिरबाट ठूलो मात्रामा दुध आयत भइरहेको भन्दै उहाँले दुध उत्पादनका लागि राम्रो प्लान्ट जरुरी रहेको बताए ।

काठमाडौंमा पनि अनाधिकृत, विना लेवलका, श्रोत नखुलेका, गुणस्तरहिन कृषि उपजहरु पाइएको र अनुगमनका क्रममा विराटनगर पनि त्यसबाट अछुतो नरहेको उनको भनाई थियो । मन्त्री खनालले प्रतिष्पर्धात्मक समयमा पनि आयोजना पुराना प्रविधिमा भर परिरहेको बताए ।

उनले आधुनिक र नयाँ प्रविधिसहित दुध उत्पादनलाई आत्मनिर्भर बनाउने तर्फ मन्त्रालयले छलफल गरिरहेको जानकारी दिए । भारतबाट अमुल लगायत केही कम्पनीको धुलो तथा विभिन्न किसिमका दुध नेपाली बजारमा आइरहेको र निजी क्षेत्रले पनि अपेक्षित योगदान गर्न नसकिरहेकोले आयोजनाको विकास जरुरी रहेको उनको भनाई छ ।