नेपालकी सपनाले हराइन् भारतीय रेस्लर देव द बुललाई

नेपालकी सपनाले हराइन् भारतीय रेस्लर देव द बुललाई


काठमाण्डु – अन्तर्राष्ट्रिय रेस्लिङमा नेपाली महिला रेस्लर सपना तामाङले भारतीय पुरुष रेस्लर देव द बुललाई पराजित गरेकी छन् । नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा भएको प्रतियोगितामा सपनाले बुललाई सिंगल म्याचमा पराजित गरेकी हुन् ।

खेलाडी सिर्जना कोजु, सपना तामाङ, स्नेहा थापा, आकृति पुन, नेपाली ब्रो, गीता जिरेल र जमुना तामाङ सम्मिलित रोयल रम्बल म्याचमा सिर्जना कोजुले जित हात पारिन् । नेपालकी मनीषा रानाभाट र जमुना तामाङबीचको सिंगल म्याच रद्द भएको थियो ।

गीता जिरेल र स्नेहा थापाबीचको सिंगल म्याचमा गीता विजयी भइन् । नेपालका नेपाली ब्रो तथा भारतका सुशान्त शर्मा र भारतकै देव द बुलबीचको पुरुष त्रिपल थ्रेटमा नेपाली ब्रोले जित हात पारे । शान्तिनगरस्थित आयोजक फाउन्डेसनको हातामा भएको प्रतियोगिताको पुरुष हार्ड कोरमा भारतका हुक्मा रामले नेपाली ब्रोलाई हराए ।

प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री दावा तामाङले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा सहभागी हुन अमेरिका, जापान र पाकिस्तानका खेलाडीलाई आमन्त्रण गरिएको थियो । कोरोना भाइरस (कोभिड– १९) का कारण ती देशबाट खेलाडीहरु नआएपछि नेपाल र भारतका रेस्लरको मात्र प्रतिस्पर्धा गरिएको थियो ।