सुन तस्करीको पर्दा पछाडी को ? यस्तो छ रहस्य

सुन तस्करीको पर्दा पछाडी को ? यस्तो छ रहस्य


काठमाडौँ -संगठित सुन तस्करीका मुख्य अभियुक्तका रूपमा प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका ‘गोरे’ भनिने चूडामणि उप्रेती पक्राउ परेका छन् । उनी काठमाडौंको गौरीघाटस्थित आफ्नै घरनजिकबाट मंगलबार बिहान साढे पाँच बजेतिर पक्राउ परेका हुन् ।

गृह मन्त्रालयका सहसचिव ईश्वरीराज पौडेलको नेतृत्वमा गठित विशेष अनुसन्धान समितिले दिउँसो पत्रकार सम्मेलन आयोजना गरी उनलाई सार्वजनिक गरेको हो ।

पक्राउपछि गोरेले आफूले सुन व्यवस्थापन मात्रै गरेको र तस्करीमा आफूभन्दा माथि धेरै जना रहेको खुलाएको स्रोतले बतायो । सुन तस्करीमा प्रहरीसँग सहयोग लिएको र त्यसबापत आफूले रकम दिने गरेको पनि उनले पुष्टि गरेका छन् ।

पक्राउपछि गोरेले अनौठो व्यवहार देखाएको समितिका एक सदस्यले बताए । ‘एकैछिनमा रुने, गम्भीर हुने र मरौंमरौं लागेको बताउने गरेका छन्,’ ती सदस्यले भने, ‘प्रहरीसमक्ष मलाई बचाइदिनुस् भन्दै रोए ।’ प्रारम्भिक बयानमा गोरेले समातिएकाहरू सबै सुन तस्करीमा संलग्न रहेको स्वीकारे पनि माथिल्लो तहबारे खुलाएका छैनन् । ‘उनका कुरा गोलमटोल र अस्वाभाविक देखिन्छ,’ ती सदस्यले भने, ‘कुरा लुकाउन खोजेजस्तो पनि देखिन्छ ।’

संगठित सुन तस्करीमा राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ (यसअघि पक्राउ परिसकेका) र उनका साला पर्ने छिरिङ वाङ्गेल घलेको कनेक्सन रहेको गोरेले बताएका छन् । विमानस्थलस्थित थाई एयरलाइन्समा लोडर काम गर्ने बालकृष्ण श्रेष्ठले प्रहरीसँग बयानका क्रममा ‘सुन तस्करीमा एमके अग्रवाल भन्ने मोहनकुमार अग्रवालको लगानी र उक्त सुन ल्याउन गोरेसहित भुजुङ र डेबिट भनिने छिरिङले जिम्मा लिएको’ बताएका थिए ।

सुन तस्करीमा प्रहरी संलग्नताबारे सबै कुरा फरार एसएसपी श्याम खत्री र पक्राउ परेका पूर्वडीआईजी गोविन्द निरौलालाई थाहा भएको गोरेको बयान छ । उनले आफूले श्याम, गोविन्द र महानगरीय अपराध महाशाखाका सई बालकृष्ण सन्जेललाई मात्रै चिनेको बताएका छन् । गोरेको साथबाट बरामद मोबाइलमा उनकै स्वरमा केही अडियो क्लिपसमेत प्रहरीले फेला पारेको छ । त्यसमा उनले आफू निर्दोष रहेको र सबै दोष आफूमाथि थोपरेर फसाइएको बताएका छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।