बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी


नेपालगञ्ज – बाँके जिल्ला कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी राखिएको छ । तीन सय कैदीबन्दी बस्न सक्ने क्षमताको सो कारागारमा अहिले ६५५ कैदीबन्दी रहेको कारागार प्रमुख मोहन लामिछानेले बताए ।

कैदीबन्दीको आचरण सुधारका लागि विसं २००० सालमा स्थापना गरिएको नेपालगञ्जस्थित बाँके जिल्ला कारागारलाई नागरिकको सुरक्षाका दृष्टिकोणले पनि अन्यत्र सार्नुपर्ने प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीको भनाइ छ । यसलाई नै दृष्टिगत गरी अहिले बाँके जिल्लाको गनापुरमा खुल्ला कारागार निर्माणकार्य समेत शुरु गरिएको छ । प्रजिअ केसीका अनुसार, आठ बिगहा क्षेत्रफलमा फैलिएको सो खुल्ला कारागारको दुई कोठा र ब्यारेक निर्माण कार्य सकिएको छ भने अन्य संरचना निर्माण भइरहेका छन् ।

यसैगरी, बाँकेकै नौवस्तामा पनि १० बिगहा क्षेत्रफलमा नेपालगञ्ज कारागारको निर्माणकार्य थालिएको छ । यी दुबै कारागारको निर्माण कार्य पाँच वर्षभित्र सक्ने गरी समय निर्धारण गरिएको पनि उनले जानकारी दिए । “यी दुबै कारागार निर्माण भएपछि सम्भवत् नेपालगञ्जको मानव बस्ती बीचमा रहेको बाँके जिल्ला कारागार त्यहाँ नरहन सक्छ,” प्रजिअ केसीले भने ।

यसैबीच, बाँके जिल्लाका अधिकारकर्मीले बाँके जिल्ला कारागार र जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षको अनुगमन निरीक्षण गरेका छन् ।
अधिकारकर्मी वसन्त गौतम, बलबहादुर चन्द, विश्वजित तिवारी र चित्रबहादुर केसीको टोलीले गरेको अनुगमन निरीक्षणपछि कारागार र थुनुवा कक्षको अवस्था सुधारका लागि सम्बद्ध पक्षसँग आग्रह गरिएको छ ।