राजविराज विमानस्थलको परीक्षण उडान सफल

राजविराज विमानस्थलको परीक्षण उडान सफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज–विसं २०१६ मा निर्माण गरिएको राजविराज विमानस्थलमा एक दशकपछि हवाइ जहाजको परीक्षण उडान गरिएको छ।

बीचबीचमा उडान भइरहने यस विमानस्थलमा पक्की रन–वे निर्माण भएपछि पहिलो पटक ५० सिट क्षमताको श्री एयरलाइन्सको जहाजले आज सफल परीक्षण उडान गरेको हो । आधा घण्टा विमानस्थलमा बसेको जहाजले विमानस्थलको चारैतिर फन्को लगाएर परीक्षण गरेको विमानस्थलका इन्जिनियर रामएकवाल महतोले बताए।

यसअघि कच्ची धावनमार्ग रहेको विमानस्थलबाट पहाडी जिल्लाका लागि मात्रै जहाज उड्ने गथ्र्याे । तर पछि जहाज उड्न बन्द भएको थियो । २०६४ सालतिर करिब एक महिना तारा एयरले राजविराज–काठमाडौँ उडान भरेपनि त्यसपछि राजविराज विमानस्थलमा विमान उडान अवतरण हुन सकेको थिएन् ।

विमानस्थल रनवे स्तरोन्नतिको काम दुई वर्ष अघिदेखि शुरु भएर एक महिना अगाडि सम्पन्न भएको हो । विमानस्थलको बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले विधिवत् उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

 महतोले तत्काल श्री एयरलायन्सले राजविराज–काठमाडौँ उडान भर्ने मौखिक सहमति भएको बताए। यद्यपि नियमित उडानको समय भने निर्धारण हुन नसकेको उहाँको भनाइ छ ।

विमानस्थलमा एक हजार पाँच सय मिटर लामो तथा ३० मिटर चौडाईको पक्की धावन मार्ग, ६० मिटर चौडाई र ९० मिटर लामो एप्रोन तथा एक सय दश मिटर लामो र २० मिटर चौडा ट्याक्सी–वे निर्माण सम्पन्न भइसकेको छ । रासस