सरकारको नीतिमा कांग्रेसको असन्तुष्टि रहेका बेला सत्तापक्ष र प्रतिपक्षबीच भेटवार्ता

सरकारको नीतिमा कांग्रेसको असन्तुष्टि रहेका बेला सत्तापक्ष र प्रतिपक्षबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले गत सोमबार संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल जारी रहेको र त्यसमा प्रमुख प्रतिक्षी कांग्रेसले असन्तुष्टि जनाइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका नेताबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा संसद् नियमावली, संसदीय समिति गठन, संसद्को अन्तरिम कायविधि, सरकारको नीति तथा कार्यक्रमलगायत समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

सो अवसरमा प्रधानमन्त्री ओलीले नियमावली बनाउने विषयमा सहमति गरेर अगाडि बढ्न प्रमुख प्रतिपक्षी दलका नेताहरुलाई आग्रह गरे।
छलफलमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव बिष्णु पौडेल, नेता सुवासचन्द्र नेम्वाङ सहभागी रहेका थिए।

प्रमुख प्रतिपक्षी दलकातर्फबाट नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरु कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, विजयकुमार गच्छदार र डा मीनेन्द्र रिजाल सहभागी थिए।

संघीय संसद्‌मा आर्थिक वर्ष २०७५–७६ को नीति तथा कार्यक्रममाथिको छलफल जारी छ। प्रतिनिधिसभाको बुधबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै करीब तीन दर्जन सांसदले आ–आफ्नो धारणा राखेका थिए।

नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालका २३ सांसदले १६ भन्दा बढी विषयमा फरकफरक संशोधन प्रस्ताव प्रस्तुत गरिसकेका छन्।

प्रतिनिधिसभाको अर्को बैठक बिहीबार जेठ १० गते बिहान १० बजे बस्नेछ ।