गोरेले भने ‘एसएसपी खत्रीले प्रतिकिलो ५० हजार बुझ्थे’

गोरेले भने ‘एसएसपी खत्रीले प्रतिकिलो ५० हजार बुझ्थे’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं –  ३३ किलो सुन गायब र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती (गोरे) ले सुन तस्करीमा प्रहरीसहित ठूलो सञ्जाल क्रियाशील हुने गरेको बताएका छन् । जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा ३० पृष्ठ लामो बयान दिँदै गोरेले तस्करीमा कुनै राजनीतिक नेताको नाम नलिई ‘ठूला मान्छे’को संलग्नतालाई संकेत गरेका छन् । बयानमा उनले एसएसपी श्याम खत्रीको नामै लिएर तस्करीमा उनको संलग्नतालाई स्विकारेका छन् ।

बयानमा गोरेले भनेका छन्, ‘म सुन तस्करीमा सहयोग गर्ने तल्लो तहको मानिस भएकाले लेखिएबमोजिम बिगो कायम हुने होइन । मभन्दा माथिल्लो तहका सुन तस्करीका नाइके प्रहरीका उच्च अधिकारी तथा राजनीतिक दलका ठूला नेता पक्राउ परेका बखत नै सुन तस्करीको असली कुरा पर्दाफास हुन्छ । को-को संलग्न छन् यकिन भन्न सक्दिनँ ।’

गोरेले विमानस्थलमा एसएसपी खत्री आफ्ना मुख्य सहयोगी रहेको खुलाएका छन् । खत्री संलग्नताबारे उनले भनेका छन्, ‘झोलामा ल्याएको सुन भरियाले प्रहरीकै पास प्रयोग गरेर सिधै खत्रीको कोठमा लैजान्थे । खत्रीले चालक र अंगरक्षकलाई भनेर आफ्नै गाडीमा बाहिर पठाउँथे ।’

गोरेले विमानस्थल बाहिरका प्रहरी नायब महानिरिक्षक (डीआईजी) लाई प्रयोग गरेर सुन तस्करी सम्भव भएको बयानमा खुलाएका छन् । तर, ती डीआईजीको नाम आफूलाई थाहा नभएर प्रहरीको सबै सेटिङ गर्ने छिरिङ वालेङ घलेलाई थाहा भएको भनेका छन् ।

‘भरियालाई प्रहरीले पास उपलब्ध गराउँथे । सो पछि कुनै चेकजाँच हुदैनथ्यो’, प्रहरी सेटिङबारे गोरेले बयानमा भनेका छन्, ‘सुन बोक्ने मानिस सिधै प्रहरी हाकिमको कोठामा जान्थे । पछि प्रहरीले आफूअनुकूल समयमा सुन बाहिर निकाली तोकिएको स्थानमा छाडिदिन्थे ।’

गोरले एसएसपी खत्रीले आफैं चढ्ने सरकारी गाडी प्रयोग गरेर सुन बाहिर तोकिएको स्थानमा झारिदिने गरेको खुलासा गरेका हुन् । खत्रीले तस्करी भएको सुनमध्ये एक किलोबापत ५० हजार आफैं बुझ्ने गरेको साविती बयान गोरेले अदालतसमक्ष दिएका छन् । आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

गोरेले भने

– प्रहरी अधिकारीहरू दिवेश लोहनी, प्रजित केसीलाई म चिन्दिनँ

– पूर्वडीआईजी गोविन्द निरौला, एसपी विकास खनाल र डीएसपी संजय राउतले सुन बाहिर ल्याउन सहयोग गरेनन्

– प्रहरीकै पास प्रयोग गरेर सुन तस्करी

– फ्लाई दुबईबाट एक पटकमा २५ देखि ३० किलो सुन आउँथ्यो

– तस्करीको सुन सिधै प्रहरीको कोठामा पुगेर बाहिरिन्थ्यो

– एसएसपी श्याम खत्रीले चढ्ने सरकारी गाडीमै सुन बाहिर ल्याउँथे

– खत्रीले सुन बाहिर निकालेबापत प्रतिकिलो सुनमा ५० हजार बुझ्थे

– खत्रीकै सेटिङमा पाँच सय किलो सुन तस्करी

– सुनका मालिक भारतीय हुन- सुन नेपालबाट स्थलमार्ग हुँदै भरिया परिवर्तन भएर भारत पुग्थ्यो

– फ्लाई दुबईबाट आएको सुन राजु महर्जन, राजन थापा, अमरमान डंगोल र तुलाराम थारुको समूहले गथ्र्यो

– थाई एयरबाट बाहिर सुन सानु बन (हाल मृत्यु भइसकेको) ले गर्थे

– विमानस्थल बाहिरका प्रहरी अधिकृतलाई पनि रकम दिइन्थ्यो

– प्रहरीको माथिल्लो दर्जामा छिरिङ घलेले मिलाउँथे

– सुनील कुमार अग्रवाल, कृष्ण गोपाल अग्रवाल सुनमा लगानी गर्छन् ।