काठमाडौं– प्रधानसेनापति राजेन्द्र क्षत्रीले विद्यमान परिस्थितिको मुल्याँकन गरी आउन सक्ने जस्तोसुकै चुनौतीको सामना गर्न नेपाली सेना तयार रहेको बताएका छन्।
नेपाली सेनाको जंगीअड्डामा आयोजित दुई दिने ‘पृतनापति समन्वयात्मक बैठक २०७५’ को सोमबार समापन गर्दै प्रधानसेनापति क्षत्रीले जस्तोसुकै चुनौतीको सामना गर्न सक्ने गरी अप्रेशनल, तालिम तथा बन्दोबस्ती पक्षमा हरहमेसा तयारी रहन निर्देशन दिए।
विभागीय प्रमुखहरु तथा पृतनापतिहरुलाई नियमित संस्थागत जिम्मेवारी तथा कार्यहरुको अलावा अप्रेशनल रेडिनेस तथा सांगठनिक सुदृढिकरणका क्षेत्रहरुमा विशेष ध्यान केन्द्रित गर्न समेत उनले निर्देशन दिए।
कार्यक्रममा रथी पूर्णचन्द्र थापाले बैठकमा उठेका समसामयिक विषयहरुमा आफ्नो मन्तव्य समेत व्यक्त गरे।
समन्वयात्मक बैठकको क्रममा सहभागी कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाहरुले आ–आफ्नाे जिम्मेवारी क्षेत्रको कार्य समिक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आईपर्न सक्ने चुनौतीहरु एवम् सुझावहरुको सम्बन्धमा प्रस्तुतिकरण गरेका थिए। उक्त बैठकमा समसामयिक वस्तुस्थितिको पुनरावलोकन तथा मुल्याँकन समेत भएको थियो।
समन्वयात्मक बैठक र आपसी अन्तरक्रियाको माध्यमबाट आउने रचनात्मक सुझावहरुले नेपाली सेनाको नीति निर्माणमा ठोस योगदान पु¥याउन थप सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।
प्रतिक्रिया