काठमाण्डु – प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्नका लागि मोर्चाबन्दी गरेका दलहरु सर्वोच्च अदालत जाने तयारी गरेका छन् ।
सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारीमा रहेको विपक्षी गठबन्धनले विघटित संसदका सदस्यहरुको हस्ताक्षर संकलन गरिसकेको छ ।
सबैको हस्ताक्षर संकलन गरेर संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने विपक्षी गठबन्धनको तयारी छ । विपक्षी गठनबन्धनले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन हुनुपर्ने माग राख्दै आएका छन् ।
नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने गरी हस्ताक्षर संकलन गरेको जानकारी दिए ।
‘देउवाको नेतृत्वमा सरकार बन्नुपर्छ,’ उनले भने, ‘शेरबहादुर देउवाको नेतृत्वमा हामी सर्वोच्च जाँदैछौं ।’
महामन्त्री कोइरालाले ओलीको नेतृत्वमा निर्वाचन देशकै लागि दुर्भाग्य हुनेसमेत बताएका छन् । ‘ओलीको नेतृत्वमा निर्वाचन देशकै लागि दुर्भाग्य हुनेछ । त्यसैले देउवाकै नेतृत्वमा चुनावी सरकार हाम्रो चाहना हो,’ उनले भने ।
कांग्रेस, माओवादी केन्द्र, एमालेको खनाल–नेपाल समूह, जनता समाजवादीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चा पार्टी संलग्न गठबन्धनको शनिबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको बैठकले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको मिलेमतोमा भएको ‘असंवैधानिक’ कदमविरुद्ध सामूहिक रिट लिएर अदालतमा जाने निर्णय गरेको थियो ।
प्रतिक्रिया