३३ किलो सुन प्रकरणका अभियुक्त डेविट छिरिङ्गले गरे अदालतमा आत्मसमर्पण

३३ किलो सुन प्रकरणका अभियुक्त डेविट छिरिङ्गले गरे अदालतमा आत्मसमर्पण


विराटनगर- ३३ किलो सुन प्रकरण र सनम शाक्य हत्यामा अभियुक्त बनाइएका डा.डेविट भनिने छिरिङ्ग वाङगेल घलेले जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका छन्।

छिरिङले आइतबार अदालतमा आत्मसमर्पण गरेका हुन् । उनी आजै हाजिर भएको र बयान सुरु भइसकेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोज केसीले बताए। उनलाई प्रहरीले फरार अभियुक्त बनाएर मुद्दा दायर गरेको थियो। घले यसअघि पक्राउ परेका भुजुङ गुरुङका भाञ्जा हुन्। अनुसन्धानको क्रममा उनी मुख्य लगानीकर्तामध्ये एक भएको खुलेको छ।

अर्का लगानीकर्ता मोहन अग्रवालसँग उनको विवाद भएको थियो। सोही कारण उनले नै सुन लुटेको आशंका गरिएको छ। सो समूहका चुडामणि उप्रेती ‘गोरे’ लगायतका व्यक्तिहरुले घलेले नै सुन लुटेको आंशका गरेका छन्। गत माघ ९ गते विमानस्थलबाट तस्करी भएको साढे ३३ किलो सुन पुरानो बानेश्वरबाट लुटिएको थियो। जुन सुन अहिलेसम्म भेटिएको छैन।

सोही सुन लुटेको आशंकामा सनम शाक्यको हत्या भएको थियो। शाक्य हत्याको अनुसन्धानमा भएको चलखेलको थप अनुसन्धान गर्ने क्रममा विगत ५ वर्षदेखि विमानस्थलबाट हुँदै आएको सुन तस्करीको रहस्य खुलेको हो।