बेल्डाँडी हुँदै नेपाल-भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीको ‘फोर्स मार्च’

बेल्डाँडी हुँदै नेपाल-भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीको ‘फोर्स मार्च’


भीमदत्तनगर – सशस्त्र प्रहरी बलले आजदेखि कञ्चनपुरको दक्षिणी भेगस्थित नेपाल–भारत सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण तथा सीमा क्षेत्रको रेखदेखका लागि साताव्यापी ‘फोर्स मार्च’ गस्ती शुरु गरेको छ ।

सशस्त्र प्रहरी बल मुख्यालयको नीति-निर्देशन अनुसार बेल्डाँडी गाउँपालिकादेखि उक्त गस्ती शसस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय कञ्चनपुरले शुरु गरेको हो । सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक गतिविधि नियन्त्रण एवं सीमाको रेखदेखका लागि फोर्च मार्च गस्ती थालिएको बताए ।

“उस्तै पनि सीमा क्षेत्रमा विविध कारणले हाम्रो सहभागिता कम छ,” उनले भने- “पहुँच नभएको ठाउँमा पनि निगरानी बढाउन यो गस्ती शुरु गरिएको हो ।” उनले हरेक महिना यहाँको सीमाक्षेत्रमा नियमित रुपमा गस्ती गरिने बताए । आइतबारबाट बेल्डाँडी हुँदै नेपाल–भारत सीमा क्षेत्र गस्ती गर्र्दै कञ्चनपुरको पूर्वी सिमाना डोकेबजारसम्म पुग्ने छ ।

“पहुँच नभएको ठाउँमा हामी राति बसेर पनि गस्ती गछौँं,” उनले भने-“यो गस्ती निकै प्रभावकारी हुनेमा आशावादी छौंँ ।” उक्त गस्ती टोलीको नेतृत्व सशस्त्र प्रहरी नायब निरीक्षक कृष्ण बोहराले गरिरहेका छन् ।

हाल कञ्चनपुरमा दुईवटा मात्रै सशस्त्र प्रहरीको सीमा क्षेत्रमा बोर्डर सुरक्षा पोष्ट रहेको छ । महाकाली नगरपालिकाको दोधारा-चादँनी र बेलौरीमा बोर्डर सुरक्षा पोष्ट रहेपनि यहाँको बेल्डाँडी र ब्रह्मदेव क्षेत्रका साथै पुर्नवासमा समेत सशस्त्र प्रहरीको पोष्ट स्थानीयवासीले माग गर्दै आएका छन् । नेपाल–भारत सीमा क्षेत्रमा भारततर्फ सुरक्षाको बाक्लो सहभागिता रहेपनि नेपालतर्फ भने त्यो हुनसकेको छैन ।