प्रधानमन्त्रीको चीन भ्रमणमा यस्तो छ ,ऊर्जा क्षेत्रको सपिङ्ग लिस्ट

प्रधानमन्त्रीको चीन भ्रमणमा यस्तो छ ,ऊर्जा क्षेत्रको सपिङ्ग लिस्ट


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी असार ५ गते हुने चीन भ्रमणका बेला ३-३ जलविद्युत तथा प्रसारण लाइन आयोजना छलफलको एजेण्डामा राखिएको छ ।

प्रस्तावित केही आयोजना निर्माणमा समझदारी (एमओयू) हुने गरी परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ४ सय ५० मेगावाटको किमाथांका अरुण, ७ सय ६२ मेगावाटको तमोर जलाशय र ४ सय १० मेगावाटको नलसिंहगाड प्रस्ताव गरेको छ । यस्तै, बुटवल-महेन्द्रनगर ७६५ केभी, गल्छी-रसुवा–केरुङ ४ सय केभी र कोसी कोरिडोर प्रस्ताव गरिएको छ ।

ओली पहिलो पटक प्रधानमन्त्री हुँदा पनि किमाथांका अरुण र तमोर आयोजना छलफलको एजेण्डामा राखिएको थियो । तर, त्यतिबेला यसबारे कुनै पनि सहमति भएन । प्रधानमन्त्रीको चीन भ्रमणका बेला निर्माणबारे समझदारी गर्ने भनिएको उत्तरतर्फको अन्तरदेशीय प्रसारण लाइन (गल्छी-रसुवागढी-केरुङ) बारे भने यसपटक विस्तृत छलफल हुने बताइएको छ ।

परराष्ट्रको आग्रहमा मन्त्रालयमा आयोजना सिफारिस गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरेले बताए । मन्त्रालयका अनुसार चीनसँग छलफल गर्न मध्यपहाडी लोकमार्ग हुँदै निर्माण हुने ४ सय केभी प्रसारण लाइन तथा मर्स्याङ्दी कोरिडोर ४ सय केभी पनि प्रस्ताव गरिएको छ । तर, परराष्ट्रले अरुण, नलसिंहगाड र तमोर तथा गल्छी-रसुवागढी-केरुङ प्रसारण लाइन उच्च प्राथमिकतामा राखेको छ ।