गोकर्णेश्वर मन्दिर पुनःनिर्माणका लागि एक करोड बजेट

गोकर्णेश्वर मन्दिर पुनःनिर्माणका लागि एक करोड बजेट


काठमाडौँ – लिच्छविकालीन स्थानीय गोकर्णेश्वर महादेवको मन्दिरको जीर्णोद्धारका लागि आगामी आर्थिक वर्ष २०७५-०७६मा पुरातत्व विभागले  एक करोड बजेट विनियोजन गरेको छ ।

तीनतले झिँगटी छाना भएको प्राकृतिक दृश्याकित देवताहरुको आकार भएका काठका टुँडालजडित शिवजीको मन्दिर ज्यादै जीर्णावस्थामा छ । विभागका योजना तथा मूल्याङ्कन विभागका लिपि अधिकृत सविता न्यौपाने पौडेलले कालीगढहरु जुृटाएर मन्दिर पुनःनिर्माण छिट्टै शुरु गरिने आश्वासन दिए । पुनःनिर्माणका लागि गोकर्णेश्वर महादेव मन्दिर जीर्णोद्धार कमिटीले भने दुई करोड ५० लाख माग गरेको थियो ।

गोकर्णेश्वरवासीको चाहना भने उक्त मन्दिरको छाना तामामा सुन लेपन गरी पशुपतिनाथ मन्दिरमा जस्तै पानी नचुहिने निर्माण गर्नुपर्ने रहेको छ । सुन लेपनबाट खिया नलाग्ने उनीहरुको भनाइ छ । विसं २०७४ फागुनमा कमिटीबाट आयोजना गरिएको सप्ताह महायज्ञबाट करिब  तीन करोड नगद र जिन्सी संकलन गरिएको थियो ।

मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष श्रीकुमार श्रेष्ठ जतिसक्दो छिटो पुनःनिर्माण गर्नुपर्नेमा जोड दिन्छन् । (रासस)