शान्ति सेनाको संख्या बढाउन रक्षामन्त्रीले गरे राष्ट्रसंघलाई यस्तो प्रस्ताव

शान्ति सेनाको संख्या बढाउन रक्षामन्त्रीले गरे राष्ट्रसंघलाई यस्तो प्रस्ताव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं -संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा खटिने नेपाली सेनाको संख्या दोब्बर बनाउन नेपालले औपचारिक प्रस्ताव राखेको छ । राष्ट्रसंघको शान्ति मिसनको आयोजनामा ८५ देशका रक्षामन्त्रीहरूको सम्मेलनमा नेपालका तर्फबाट सहभागी रक्षामन्त्री भीमसेनदास प्रधानले सो प्रस्ताव औपचारिक रूपमा राखेका हुन् ।

 

 

रक्षामन्त्री प्रधानले क्यानडामा आयोजित सो सम्मेलनमा भाग लिँदै राष्ट्रसंघीय शान्ति मिसनले आवश्यकता महसुस गरे नेपालले अहिले भइरहेको भन्दा दोब्बर संख्यामा सेना पठाउन तयार रहेको प्रतिबद्धता व्यक्त गरेको राजधानीमा खबर छ ।

 

 

 

 

 

राष्ट्रसंघीय शान्ति मिसनले विश्वका ८५ देशका रक्षामन्त्रीहरूको सम्मेलन गरेर राष्ट्रसंघको तर्फबाट शान्ति मिसनमा गरिएका कामबारे जानकारी गराएको थियो । सो सम्मेलनमा शान्ति मिसनमा सहभागी राष्ट्रहरूको तालिम, क्षमता अभिवृद्धि, जोखिम न्यूनीकरण, पूर्वचेतावनी तथा तीव्र परिचालन, लैंगिक अवधारणाको विषयमा छलफल हुनेछ ।

 

 

 

हाल शान्ति मिसनमा ४ हजार ६ सय ६५ नेपाली सेना कार्यरत छन् भने सशस्त्र तथा नेपाल प्रहरीसमेत गरी करिब ५ हजार जना कार्यरत रहेका छन् । राष्ट्रसंघले नेपालको सो प्रस्तावलाई स्वीकार गरेमा १० हजार फौज शान्ति मिसनका लागि तैनाथ हुनेछन् । हाल द्वन्द्वग्रस्त १३ देशमा नेपाली सेना तथा प्रहरी शान्ति मिसनका लागि खटिएका छन् ।

 

 

 

नेपालले सहभागी राष्ट्रहरूको तर्फबाट शान्ति मिसनमा खटिएका नेपाली सेनाको प्रभावकारिताको विषयमा धारणा राखेको थियो  । साथै सहभागी राष्ट्रहरूको क्षमता अभिवृद्धिको विषयमा पनि रक्षामन्त्री प्रधानले धारणा राखेका थिए ।

 

 

 

 

१३ भदौ २०७३ मा सरकारले संयुक्त राष्ट्रसंघका शान्ति मिसनका उच्चअधिकारी नेपाल आएको बेला अनौपचारिक रूपमा सो प्रस्ताव राखिएको थियो ।

 

 

 

 

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल, तत्कालीन रक्षामन्त्री बालकृष्ण खाँड र प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाल भ्रमणमा रहेका विश्वशान्तिसम्बन्धी सहयोग विभागका प्रमुख अतुल खेरलाई राष्ट्रसंघीय शान्ति मिसनमा नेपाली सेनाको कोटा दोब्बर बनाउन अनुरोध गरेका थिए । सो सम्मेलनमा सहभागी रक्षामन्त्री प्रधानले भने औपचारिक रूपमै सो प्रस्ताव गरेका छन् ।

 

 

नेपाली सेनाका प्रवक्ता सहायक रथि नैनराज दाहालले राष्ट्रसंघले मागेको अवस्थामा नेपाली संख्या थप गरिने बताए । ‘हामीले यूएनले मागेको अवस्थामा १० हजारसम्म पठाउन सकिने जानकारी गराएका छौं,’ सहायक रथि दाहालले भने ।

 

 

सरकारले कुल संख्याको १० प्रतिशत सेनालाई राष्ट्रसंघीय शान्ति सेनामा पठाउन सक्ने निर्णय गरिसकेको छ । यो निर्णयअनुसार सरकारले शान्तिमिसनमा ९ हजार ६ सय सेना पठाउन सक्छ । त्यसकारण राष्ट्रसंघले नेपाली सेनाको कोटा बढाउनुपर्ने अवस्था छ । सरकारको सोही निर्णयअनुसार रक्षामन्त्री प्रधानले सो सम्मेलनमा दोब्बर बनाउने प्रस्ताव गर्दै आवश्यक माग गरेको समयमा पठाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

 

 

 

 

नेपाली सेनाले विश्वका कठिन ठाउँहरूमा शान्ति स्थापनाका लागि पु‍¥याएको योगदानलाई मूल्यांकन गर्दै राष्ट्रसंघले उच्चअधिकारी र सेनाको संख्यामा नेपालको कोटा बढाउनु पर्नेमा लबिङ गर्दै आएको छ । नेपालले अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको योगदानलाई राष्ट्रसंघले प्रशंसा गर्दै आएको छ ।

 

 

 

 

नेपालले १४ डिसेम्बर १९५५ मा संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गरेको तीन वर्षपछि १२ जुन १९५८ मा युनाइटेड नेसन्स अब्जर्भर गु्रप इन लेबनान, युनोगिल मिसनमा पाँचजना नेपाली सेनाका अधिकृतले सैनिक पर्यवेक्षकको रूपमा पहिलोपटक संलग्नता जनाएको थियो । 

 

 

 

 

नेपाली सेनाले संयुक्त राष्ट्रसंघअन्तर्गत डिपार्टमेन्ट अफपिस किपिङ अपरेसनबाट सञ्चालित प्रायः सबै प्रकृतिका शान्ति स्थापना कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । सन् १९८८ मा राष्ट्रसंघीय शान्ति सेनाले नोबेल शान्ति पुरस्कार प्राप्त गर्नुमा पनि नेपाली सेनाको महत्वपुर्ण भूमिका रहेको थियो । अहिले राष्ट्रसंघलाई फौज उपलब्ध गराउने राष्ट्रहरूमध्ये नेपाल छैटौं स्थानमा छ ।

 

 

 

नेपाली सैनिकहरूले मध्यपूर्व तथा अफ्रिकालगायत विश्वका द्वन्द्वग्रस्त क्षेत्रमा तैनाथ रही उल्लेख्य योगदान गरिसकेका छन् । नेपाली सेनाले संयुक्त राष्ट्रसंघमा तीन जना फोर्स कमान्डर र एक जना राष्ट्रसंघका महासचिवको सहायक सैनिक सल्लाहकार तथा सैनिक सल्लाहकारको महत्वपुर्ण नियुक्तिमा रही जिम्मेवारी बहन गरिसकेका छन् ।  आजको राजधानी दैनिकमा समाचार छ ।