प्रधानमन्त्रीको चीन भ्रमणमा तातोपानी नाका एजेण्डा : परराष्ट्रमन्त्री

प्रधानमन्त्रीको चीन भ्रमणमा तातोपानी नाका एजेण्डा : परराष्ट्रमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले तातोपानी नाका तत्काल सञ्चालनका लागि चीन सरकारसँग पहल गर्ने बताएका छन्।

राष्ट्रिय व्यापार संघको टोलीको ज्ञापनपत्र बुझ्दै मन्त्री ज्ञवालीले भूकम्पका कारण बन्द भएको तातोपानी नाका सञ्चालनमा ल्याउनेबारे चीन सरकारसँग पहल गर्ने बताएका हुन्।

चीनसँगको व्यापार व्यवसाय विस्तारका लागि सहज वातावरण बनाउन सरकार गम्भीर रहेको भन्दै उनले प्रधानमन्त्रीको चीन भ्रमणका समयमा यस विषयलाई पनि प्रमुखताका साथ उठाउनेसमेत जानकारी गराए।

चीन नेपालको मुख्य व्यापारिक छिमेकी राष्ट्र बन्न सक्ने भन्दै मन्त्री ज्ञवालीले नेपालका व्यवसायीलाई सहजरुपमा चीन प्रवेशको व्यवस्था मिलाउन पहल गर्नेसमेत बताए।

अहिले रसुवा जिल्लाका बासिन्दाका लागिमात्र चीनले प्रवेश पास दिँदै आएकामा अब देशैभरका व्यवसायीलाई एकदिने पासका लागि पहल गर्ने उनले जानकारी दिए।

संघका अध्यक्ष युवराज न्यौपानेको टोलीले तातोपानी नाका खोल्नका लागि कूटनीतिक पहल गर्नुपर्ने, व्यापारीलाई सहजरूपमा चीनको प्रवेशाज्ञा उपलब्ध गराउनुपर्ने , नेपालबाट सामान ढुवानी गर्न जाने देशभरका कन्टेनरका चालकलाई अनुमति दिलाउनुपर्ने , केरुङको बाटो स्तरोन्नति गरिनुपर्ने लगायत ६ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको थियो।