गृहमन्त्रीले दिए कुलमान घिसिङलाई यस्तो निर्देशन : एक सेकेण्ड पनि विजुली नरोकियोस्

गृहमन्त्रीले दिए कुलमान घिसिङलाई यस्तो निर्देशन : एक सेकेण्ड पनि विजुली नरोकियोस्


काठमाडौँ – त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा नियमित विद्युत् आपूर्तिमा देखिने समस्या समाधानका लागि सरकारले चासो व्यक्त गरेको छ ।

गृहमन्त्री रामबहादुर थापाले आज नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई मन्त्रालयमा बोलाएर विद्युत् आपूर्तिमा बेलाबखत देखिने समस्या समाधानका लागि निर्देशन दिएका हुन् ।

नियमित विद्युत् आपूर्ति नहुँदा वा कहिलेकाहीँ अकस्मात् विद्युत् कटौती हुँदा अध्यागमनलगायत स्थानमा अनधिकृत वा गैरकानूनी काम हुने भएकाले त्यसलाई नियन्त्रण गर्न समस्या पर्ने गृहमन्त्री थापाको भनाइ छ । “कुन स्थानमा कस्तो समस्या छ, त्यसको पहिचान गर्नुस, कमसे कम अत्यावश्यक क्षेत्रमा नियमित र कुनै पनि समस्या आउँदासमेत विद्युत् कटौती नहुने प्रबन्ध गर्नुस् । आवश्यक परेको विषयमा सरकारले सहयोग गर्छ” उनले कार्यकारी निर्देशक घिसिङलाई भने ।

विमानस्थलमा थोरै मात्रै विद्युत् अवरुद्ध हुँदा पनि त्यसबाट ठूलो समस्या आउने भएकाले विशेष ध्यान दिन मन्त्री थापाले कार्यकारी निर्देशक घिसिङको ध्यानाकर्षण गराए । कार्यकारी निर्देशक घिसिङले ‘भोल्टेज’ मा देखिने समस्याका कारण कहिलेकाहीँ सामान्य समस्या आउन सक्ने भएकाले त्यसलाई समाधान गर्न प्राधिकरण क्रियाशील रहेको बताए ।

समस्या समाधानका लागि प्राधिकरणले विशेष ध्यान दिएको अस्पताल, विमानस्थल तथा अत्यावश्यक क्षेत्रमा कुनै पनि समय विद्युत् आपूर्तिमा समस्या आउन नदिन हदैसम्मको प्रयास गर्ने घिसिङको भनाइ थियो ।विद्युत् चुहावट नियन्त्रणका लागि गृहमन्त्रालयलको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराइदिन घिसिङले गृहमन्त्री थापालाई अनुरोध गरेका थिए ।