काठमाण्डु – नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन्। मंगलबार बिहान सामाजिक सञ्जालमार्फत खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका हुन् ।
‘अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुंगिएको छ तर नेपाली क्रिकेटका लागि मेरो सपना भने अझै बामे सर्दैछन्,’ उनले भनेका छन्, ‘मैदानभित्रका यी दुई दशक जीवन रहुञ्जेल मिठो यादका रुपमा मसँग रहनेछन् । हामी सबैले मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने छौँ भन्ने विश्वास लिएको छु ।’
‘२००२ मा १५ वर्षको हुँदा मैले सुरू गरेको क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षकहरू, साथी खेलाडीहरू, प्रशंसकहरू, सरोकारवालाहरू, मिडियाकर्मी, मेरो परिवार र साथीहरूप्रति म सदैव ऋणी रहनेछु,’ पारसले लेखेका छन्।
नेपालका सफल कप्तान तथा अलराउन्डर खड्काले नेपाललाई २००४, २००६ र २००८ गरी तीनवटा अन्डर १९ विश्वकपमा नेपालको प्रतिनिधित्व गरेका थिए । उनी सन् २००९ मा नेपाली क्रिकेट टोलीको कप्तान बनेका थिए । सन् २००७ को अन्डर–१९ एसीसी ट्रफीमा उनी म्यान अफ द टुर्नामेन्ट घोषित भएका थिए ।
प्रतिक्रिया