ओलीसँगको भेटको पूर्वसन्ध्यामा माधव नेपाल र प्रचण्डबीच भेटवार्ता

ओलीसँगको भेटको पूर्वसन्ध्यामा माधव नेपाल र प्रचण्डबीच भेटवार्ता


काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका छन् । कोटेश्वरस्थित माधव नेपालको निवास नजिककै एक घरमा उनीहरुबीच भेटवार्ता भएको स्रोतले जनाएको छ ।

उनीहरूबीच पछिल्लो समय भईरहेका राजनीतिक घटनाक्रम र नेपालपक्षको रणनीतिकाबारेका छलफल भएको बताइएकाे छ । सत्ता साझेदार दलहरुले एमालेको नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराउने प्रयास गरिरहेका छन् । त्यसको नेतृत्व स्वयः प्रचण्डले गरिरहेका छन् ।

उनी नेपाल पक्षलाई सरकारमा सहभागी गराउनका लागि लामो समयदेखि प्रयत्नशील छन् । तर, नेता नेपालले अन्य नेताहरुले सरकारमा जान सहमति नजनाएकाले आफू एक्लै जान नसक्ने जवाफ दिँदै आएका छन् । सत्ता गवठबन्धनले मन्त्रालयको भागबन्डाका लागि छलफल जारी राखेका बेला प्रचण्ड नेता नेपाल भेट्न पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आजै नेपालसँग भेटवार्ताको तयारी गरेको बेला प्रचण्डले भेटेका हुन् । ओली र नेपालबीच आज भेट्ने तयारी भए पनि समय र स्थान भने निश्चित भइनसकेको उनीहरु निकट नेताहरुले बताएका छन् ।