बार्सिलाना एथ्लेटिक बिल्बाओसँग बराबरीमा रोकियो

बार्सिलाना एथ्लेटिक बिल्बाओसँग बराबरीमा रोकियो


एजेन्सी- स्पेनिस ला लिगाको उपाधि दावेदार टोली बार्सिलोना एथलेटिक बिल्बाओसँग बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा क्याटलान क्लब बार्सिलोना एथलेटिक बिल्बाओसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

बिल्बाओको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । बिल्बाओका लागि इनिगो मार्टिनेजले गोल गरेका थिए । बार्सिलोनाका मेम्फिस डिपाएले बराबरी गोल फर्काएका हुन् ।

खेलमा सुरुवाती अग्रता घरेलु टोलीले लिएको थियो । ५०औं मिनेटमा इनिगोले इकर मुनिएनको कर्नरबाट प्राप्त पासमा हेडगोल गर्दै बिल्बाओको उत्साह बढाए । खेलको सुरुवातदेखि बल पोसेसनमा पकड जमाएको बार्सिलोनाले ७५औं मिनेटमा पुगेर बराबरी गोल फर्काएको थियो ।

मेम्फिस डिपाएले सर्जी रोबर्टाेको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । बराबरीसँगै दुई खेलबाट चार अंक बनाएको बार्सिलोना शीर्ष स्थानमा छ । बार्सिलोनाले पहिलो खेलमा रियलल सोसिडाडलाई ४–२ गोलले हराएको थियो । लगातार दोस्रो बराबरी खेलेको बिल्बाओ दुई अंक जोड्दै नवौं स्थानमा छ ।