काठमाडौं- संयुक्त नियमावली पारित गर्न संघीय संसदको संयुक्त बैठक आइतबार बस्दैछ ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा संयुक्त बैंठक बस्ने भएको हो । सिफारिसमा बुधबार नै राष्ट्रपति विद्यादेवि भण्डारीले संयुक्त बैठक आह्वान गरेकी थिइन्। यसअघि बोलाइएको बैठकको सूचना नपाएको भन्दै सांसदहरुले असन्तुष्टि व्यक्त गरेपछि पुनः आइतबारका लागि बैठक बोलाइएको हो।
संघीय संसदको संयुक्त सदन सञ्चालन सम्बन्धी नियमावली पारित गर्न आज ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्दैछ। बैठकमा संयुक्त सदनको नियमावली पेश हुनेछ।
सत्तारुढ दल र प्रतिपक्षले सहमति गरी प्रतिनिधिसभा र राष्ट्रियसभा नियमावली बहुमतले छुट्टाछुट्टै पारित भइसकेको छ। फौजदारी अभियोग लागेका सांसद थुनामा रहेपनि निलम्बन नहुने व्यवस्थासहित पारित भएकोमा भने विरोध भइरहेको छ। संघीय संसदमा कुल १६ वटा समिति छन्। संसदीय समिति नहुँदा संवैधानिक निकायमा सिफारिस हुन सकेको छैन।
यसैबीच, आज प्रतिनिधिसभामा ३ वटा मन्त्रालयगत विनियोजन बजेटमाथि छलफल हुनेछ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक, संघीय मामिला तथा सामान्य प्रशासन, शहरी विकास र वन तथा वातावरण मन्त्रालयको बजेटमाथि छलफल हुनेछ ।
प्रतिक्रिया