डा. देवकोटाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीपछि आजै दाहसंसकार गरिने

डा. देवकोटाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीपछि आजै दाहसंसकार गरिने


काठमाडौं – वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बाँसबारीस्थित न्यूरो अस्पतालमा राखिएको छ ।

अन्तिम श्रद्धाञ्जलीपछि मंगलबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने अस्पताल प्रशासनले जनाएको छ । निधन भएको खबर पाएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली, सरकारका मन्त्रीहरु, राजनीतिक दलका नेताहरु सोमबार साँझ नै न्यूरो अस्पताल पुगेका थिए । सोमबार साँझदेखि नै अस्पतालमा सर्वसाधारण र शुभेच्छुकहरुको भिड लागेको थियो । त्यो भिड मंगलबार बिहान पनि कायमै छ ।
दिवंगत डा. देवकोटालाई ढाका टोपी लगाइदिइएको छ । जयश्रीराम लेखिएको पहेंलो वस्त्र ओढाइएको छ । पार्थिव शरीरलाई फूलैफूलले

सजाइएको टेबुलमाथि राखिएको छ । पार्थिव शरीर राखिएको स्थानसँगैको भित्तामा पनि फूलैफूलको बीचमा डा. देवकोटा हाँसीरहेको ठूलो फोटो झुन्ड्याइएको छ । देवकोटाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार दिउँसो १ बजेसम्म अस्पताल परिसरमा नै राखिनेछ । त्यसपछि नारायणगोपाल चोक, चक्रपथ हुँदै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।

उनको विद्युतीय माध्यमबाट शवदाह गरिनेछ । देवकोटा निवास हेपाली हाइटमा पत्नी डा. मधु दीक्षित देवकोटा, तीन छोरीहरु मेघा, वसुधा र मञ्जरीले काजकिरिया गर्ने छन् । काजकिरिया सात दिनमा सम्पन्न गरिने पनि अस्पताल प्रशासनले जनाएको छ ।

पित्तथैलीको क्यान्सरको बेलायतमा प्रारम्भिक उपचार गराएका डा. देवकोटा स्वदेशमा नै देहत्याग गर्ने इच्छा बमोजिम फर्किएका थिए । स्वदेश फर्किएदेखि उनी आफैले स्थापना गरेको न्यूरो अस्पतालमा उपचाररत थिए । डा. देवकोटाकै चाहनाअनुसार गत हप्ता उनलाई गृहजिल्ला गोरखा पनि लगिएको थियो ।