सवारी दुर्घटनामा ज्यान गुमाउनेमध्ये १६ देखि ३५ वर्षका धेरै

सवारी दुर्घटनामा ज्यान गुमाउनेमध्ये १६ देखि ३५ वर्षका धेरै


काठमाडौं – उपत्यकामा सवारी दुर्घटनामा ज्यान गुमाउनेमध्ये १७ देखि ३५ वर्ष उमेर समूहका व्यक्ति धेरै छन् ।

चालु आर्थिक वर्षको पहिलो १० महिनामा उपत्यकामा सवारी दुर्घटनामा मृत्यु भएका १४९ जनामध्ये १७ देखि ३५ वर्ष उमेर समूहका ८० जना छन् । यस्तै १६ वर्षमुनिका १५ र ३६ वर्षभन्दा माथि उमेर समूहका ५४ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् ।

चालु आर्थिक वर्षमा काठमाडौँ उपत्यकामा पाँच हजार १८० सवारी दुर्घटनामा १४९ जनाको मृत्यु, १८४ सशक्त घाइते र तीन हजार ४८५ सामान्य घाइते भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले १६ देखि ३५ वर्ष उमेर समूहका व्यक्तिले तीव्र गतिमा सवारी चलाउने कारणले गर्दा धेरै दुर्घटना भएको बताउंछन् । “दुर्घटनामा ज्यान गुमाएका अधिकाशं यात्रु मोटरसाइकल चलाउने छन,” उनले भने ।

गत आर्थिक वर्षमा पनि १६ देखि ३५ वर्ष उमेर समूहका व्यक्ति नै सबैभन्दा बढी सवारी दुर्घटनामा मृत्यु हुने गरेको तथ्यांक छ । सवारी दुर्घटनाबाट आव २०७२-७३ मा मृत्यु भएका १६६ मध्ये ९२ र आव ०७३-७४ मा १८२ मध्ये ८६ जना सोही उमेर समूहका व्यक्ति रहेका छन् । महाशाखाका प्रमुख पन्तले उपत्यकामा हुने सवारी दुर्घटना दिउँसोको भन्दा रातिको समयमा बढी हुने गरेको बताउंछन् ।

सवारी साधन धेरै र सडक साघुरो भएका कारण कतिपय सवारी साधन ठोक्किँएर दुर्घटना हुने गरेको महाशाखाले जनाएको छ । हाल काठमाडौँ उपत्यकामा ११ लाख ३२ हजार ९२५ सवारी साधन आवतजावत गर्छन् भने देशभर २७ लाखको हाराहारीमा सवारी साधन रहेका छन् । काठमाडौँ उपत्यकामा मात्र ४० ट्राफिक प्रहरी इकाइमार्फत सवारी व्यवस्थापन हुँदै आएको छ । ट्राफिक दरबन्दी कम र सवारी साधनको संख्या धेरै हुँदा उपत्यकाको सवारी

उपत्यकामा हुने दुर्घटनामा महिलाको तुलनामा पुरुषको मृत्यु धेरै हुने गरेको छ । महाशाखाका अनुसार आव २०७२÷७३ मा १३० पुरुष र ३६ महिला, आव २०७३÷७४ मा १२१ पुरुष र ६१ महिला तथा चालु आर्थिक वर्षमा ११७ पुरुष र ३२ महिलाको सवारी दुर्घटनाबाट मृत्यु भएको छ ।
महाशाखाले चालु आवमा ऐन कानुन विपरित सवारी साधन चलाउने तीन लाख ७८ हजार ९२७ जनालाई कारबाही गरेको छ ।

तीमध्ये लेन अनुशासनमा ३८ हजार ८१४, मापसेमा २६ हजार १९७, ट्याक्सी कारबाहीमा छ हजार ६८०, जेब्राक्रसिङ कारबाहीमा सात हजार ३९७, हर्न कारबाहीमा १३ हजार १९, सिसिटिभीमा एक हजार ९६३, बढी वान क्यामरामा छ हजार ५६३, बुलेट मोटरसाइकलमा छ हजार ८०२ र अन्य कारबाहीमा गरी दुई लाख ७१ हजार ४९२ जना छन् ।

उपत्यकामा सवारी साधन धेरै हुँदा समस्यासमेत हुने गरेको छ । महाशाखाका अनुसार हाल उपत्यकामा एउटा ट्राफिक प्रहरीले एक हजार ४४ सवारीसाधन व्यवस्थापन गर्दै आएका छन् ।