रानीकोटको भ्यु

रानीकोटको भ्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-खुल्ला आकाश, सूर्योदयको प्रकाशमा डुब्ने सुन्तलारंगी धर्ती अनि हिमाली श्रृङ्खलाको अद्भुत सुन्दरता आँखैमा ठोक्किन आइपुग्छ । वरपरका हरिया थुम्काहरू साथमा स–साना ग्रामीण बस्ती । काठमाडौंबाट २० किलोमिटरको दूरीमा अवस्थित रानीकोट भक्तपुरको सूर्यविनायक नगरपालिकाको सिपाडोल र काभ्रेको रयाले गाविसको दोसाँधमा पर्छ । रानीकोटबाट कञ्चनजंघा, मकालु, सगरमाथा, चोयु, सिसापाङमा, मनास्लु, अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरि तथा लाङटाङजस्ता ८ हजार मिटरभन्दा अग्ला ८ वटा हिमाल आँखै अगाडि देखिन्छ । लिच्छविकालीन अवशेषहरू समेत फेला पर्ने रानीकोटको ऐतिहासिक महत्व पनि उत्तिकै छ ।

रानीकोटको मुख्य डाँडाबाट दक्षिणमा डोलेश्वर महादेव र पूर्वमा आशापुरी महादेव, दरबारसँगै मुनि बाघभैरव र केही तल कुशादेवी मन्दिर छ । पनौती अथवा बनेपा जाने छोटो बाटोका रूपमा पनि रानीकोटलाई प्रयोग गरिन्छ । रानीकोटबाट झन्डै ४५ मिनेटमा पनौती पुगिन्छ । रानीकोटमा घना जंगल भएकाले कालिज, लामपुच्छ्रे, कुकु, कोइली, तित्रा, च्याखुरा आदि रगीविरंगी चराहरू पाइन्छन् । चितुवा, बनविरालो, मृग, दुम्सी, बँदेल, सालक, खरायोजस्ता थरीथरीका बन्यजन्तुले रानीकोटमा आकर्षण थपेका छन् । रानीकोटको यहीँ आकर्षणले गर्दा पछिल्ला दुई वर्षयता धुलिखेल र नगरकोटबाट पनि धेरै मानिस रानीकोट पुग्न थालेका छन् ।

रानीकोटको शिरमा छ पानोरमा रिसोर्ट, जसले यात्रुको योजना पूरा गरिदिन्छ । यो रिसोर्ट त्यहाँ बस्ने एकमात्र बासस्थान हो । रिसोर्टमा स्थानीय कुखुरा तथा खसीको मासु चाख्न पाइन्छ । ‘हामी धेरैलाई सुविधासम्पन्न तरिकाले बसाउन चाहन्छौं,’ पानोरमा रिसोर्टका सञ्चालक पीपी थुलुङ भन्छन्, ‘समूहमा वा प्याकेजमा एकसाथ ६० जनासम्मलाई सेवा दिन सक्छौं ।’ अहिले यो रिसोर्टमा सुविधासम्पन्न १२ वटा टेन्ट तथा दुईवटा आकर्षक कोठा उपलब्ध छन् ।

साप्ताहिकबाट