कप्तान किरण चेम्जोङ आईबी वर्ल्ड स्कुलको एम्बास्डर

कप्तान किरण चेम्जोङ आईबी वर्ल्ड स्कुलको एम्बास्डर


काठमाण्डु – नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बू (चेम्जोङ) प्रिमियर इन्टरनेसनल आईबी वर्ल्ड स्कुलको स्पोर्ट्स एम्बास्डर बनेका छन् ।

बुधबार स्कुलले पत्रकार सम्मेलन गर्दै कप्तान किरणलाई एम्बास्डर घोषणा गरेको हो । कार्यक्रम अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा प्रमुख अतिथि थिए ।

किरणलाई प्रिमियर स्कुलका वसन्त थापाले ब्रान्ड एम्बास्डर घोषणासँगै सम्झौता पत्र प्रदान गरे । सन् २००८ मा मकाउविरुद्ध राष्ट्रिय टोलीबाट डेब्यू गरेका कप्तान किरण थ्री नेसन्स कपमा पूर्वकप्तान विराज महर्जनले संन्यास लिएपछि टोलीको नियमित कप्तान छन् ।

आइतबार मात्रै किरणले विराजको राष्ट्रिय टोलीबाट ७३ क्यापको कीर्तिमान तोडेका थिए । दोस्रो मैत्रीपूर्ण खेलमा भारतविरुद्ध खेल्दा किरणले सर्वाधिक ७४ क्याप खेल खेलेका हुन् । कप्तान किरणसहित नेपाली टोली साफ च्याम्पियनसिपको तयारीका लागि कतार यसै साता प्रस्थान गर्नेछ ।