इपिएलमा चितवनको विजयी सुरुवात

इपिएलमा चितवनको विजयी सुरुवात


काठमाण्डु – एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी २० क्रिकेटमा चितवन टाइगर्सले विजयी सुरुवात गरेको छ । राजेश पुलामीले संयमपूर्ण ब्याटिङ गरेपछि चितवनले विराटनगर वारियर्सलाई २ विकेटले पराजित गरेको हो ।

राजेशको ४३ रनको मद्धतमा चितवनले १ सय ५२ रनको लक्ष्य अन्तिम बलमा पुरा गरेको थियो । ३९ बल खेलेका उनले २ चौका र २ छक्का प्रहार गरे । शाहव आलम १ रनमा अविजित रहे । ओपनर मोहम्मद साहजादलाई चितवनले एक रनमै गुमाएको थियो ।

इशान पाण्डे १०, भिम सार्की ११ बलमा ३०, दीलिप नाथ २१ बलमा २३, करिम जन्नत १८ बलमा १९, कप्तान सोमपाल कामी ९ र कमलसिंह ऐरी एक रनमै आउट भए । विराटनगरकालागि सिकन्दर राजाले ४ ओभरमा ३४ र कप्तान करण केसीले ४ ओभरमा ३० रन खर्चेर २–२ विकेट लिए । प्रतिस जिसी, अनिल खरेल र रायन पठानको नाममा १–१ विकेट रह्यो ।

यसअघि जिम्बावेका पूर्वकप्तान राजाले अर्धशतक बनाएपछि टस हारेर ब्याटिङमा आएको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ५१ रन बनाएको थियो । राजाले ४७ बल खेल्दै २ चौका र ७ छक्का प्रहार गरी ६७ रन बनाए । सौरभ खनाल १९ बलमा ३ चौका र २ छक्का प्रहार गरी ३० रन बनाई अविजित रहेका थिए ।