चेलीबेटी बेचबिखनमा लैजाने लागेका १० महिलाको उद्धार

चेलीबेटी बेचबिखनमा लैजाने लागेका १० महिलाको उद्धार


काठमाडौं – महानगरीय प्रहरी प्रभाग नयां बसपार्कले वैदेशिक रोजगारीका बहानामा चेलीबेटी बेचबिखन गर्न लैजांदै गर्दा १० महिलालाई उद्धार गरेको छ ।

प्रभागले नयां बसपार्कबाट बसमा राखेर बुटवल हुंदै विदेश पठाउन लागेको गोप्य सूचनाका आधारमा नयां बसपार्क, स्वयम्भू र कलंकीबाट शनिबार र आइतबार उद्धार गरेको हो ।

प्रभागका प्रमुख मोहनविक्रम केसीले विदेशमा लगेर जागिर लगाइदिने प्रलोभनमा भिसासमेत नलगाइकन उनीहरुलाई बुटवल लैजांदै गर्दा काठमाडौंका विभिन्न स्थानबाट उद्धार गरिएको जानकारी दिए ।

उद्धार गरेकामध्ये चार जना आफूखुशी म्यानपावरबाट जान लागेको, चार जनालाई पासपोर्टसहित बुटवल हुंदै भारत जांदै गर्दा र बांकी दुई जनालाई बिना पासपोर्ट भारत लैजांदै गर्दा नियन्त्रणमा लिएका हुन् ।आफूखुशी जान लागेका चार जनालाई भने सामान्य सोधपुछपछि परिवारको जिम्मा लगाइएको छ भने बांकी छ जनालाई संरक्षणका लागि शक्ति समूह चुच्चेपाटी पठाइएको प्रभागले जनाएको छ । लैजाने व्यक्ति भने फरार रहेका छन् ।