कर्णाली प्रदेशले सुरु गर्‍यो ‘जनतासंग मुख्यमन्त्री’ रेडियो कार्यक्रम

कर्णाली प्रदेशले सुरु गर्‍यो ‘जनतासंग मुख्यमन्त्री’ रेडियो कार्यक्रम


सुर्खेत – कर्णाली प्रदेशमा सोमबारदेखि ‘जनतासंग मुख्यमन्त्री’ रेडियो कार्यक्रम शुरु भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही यस प्रदेशमा कार्यरत ४२ वटा एफएम रेडियोबाट एकैसाथ १५ लाख जनतामाझ पुगेका छन् ।

जनता स्वयंको प्रत्यक्ष जिज्ञासा, गुनासा, सुझाव र प्रश्न लिएर प्रदेशको विकास, सुशासनमा गति दिने मुख्य उद्देश्य राखेर ‘जनतासंग मुख्यमन्त्री’ रेडियो कार्यक्रम शुरु गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले जानकारी दिए ।

‘जनतासंग मुख्यमन्त्री’ रेडियो कार्यक्रम शुरु भएकै दिनमा दर्जनौं नागरिकले मुख्यमन्त्री शाहीसंग, साविकको कर्णालीमा राष्ट्रिय प्रसारण लाइन जडान, सडक, युवा रोजगारी सुनिश्चितता कहिलेसम्म हुने जस्ता प्रश्न तथा जिज्ञासा राखेका थिए । जिज्ञासा तथा प्रश्न फेसबुक, भाइबर, एसएमएस, स्काइप र टेलिफोनबाट राखेका थिए । आफ्ना जिज्ञासा खुलेरै प्रत्यक्षरुपमा मुख्यमन्त्रीसंग राख्न पाएपछि कर्णालीवासीले खुशीको अनुभूति गरेका छन् ।

हिमा गाउंपालिका जुम्लाका रनबहादुर रोकायाले कर्णालीलगायत विभिन्न जिल्लामा अहिलेसम्म पनि विद्युत् नहुंदा अँध्यारोमा बस्नुपर्ने बाध्यता भोग्नु परेको गुनासो गरे । मुख्यमन्त्री शाहीले जनतासंगको प्रत्यक्ष कुराले प्रदेशको आगामी विकास योजना निर्माणमा सघाउ पुग्ने बताए । सेवा प्रवाह र पारदर्शिताका विषयमा पनि जिज्ञासा तथा सुझाव आएका छन यो राम्रो पक्ष हो,” उनले भने । जनताले खबरदारी गर्दै आएको कुराले यो प्रदेशमा सुशासन कायम हुनुका साथै आगामी योजना निर्माणमा सहयोग पुग्ने मुख्यमन्त्री शाहीको भनाई रहेको छ ।