काठमाण्डु – एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा मंगलबार काठमाण्डु किंग्स इलेभेन र भैरहवा ग्लाडिएटर्सबीच तय भएको अन्तिम लिग खेल रद्ध भएको छ ।
खेल रद्ध भएपछि भैरहवासँग अंक बाँड्दै काठमाण्डु प्लेअफ पुगेको छ । यता साविक विजेता ललितपुर प्याट्रिओट्स भने काठमाण्डु समान अंक रहे पनि नेट रनरेटमा पछि पर्दै लिग चरणबाटै बाहिरिएको छ ।
काठमाण्डु र भैरहवाबीच मंगलबार ९:३० बजे खेल सुरु हुने तालिका थियो । तर सोमबार भारी वर्षासँगै भिजेको आउटफिल्डको कारण मंगलबार काठमाण्डु र भैरहवाबीचको खेल हुन नसकेपछि अंक बाँडेका हुन् । भैरहवा कप्तान शरद भेषावकर, प्रशिक्षक पुबुदु दसानायके, काठमाण्डुका कप्तान सन्दीप लामिछाने र अम्पायरहरुको लामो छलफलपछि खेल रद्द गर्ने निर्णय लिएका हुन् ।
खेल नभएपछि काठमाडौं र भैरहवाले १-१ अंक बाँडे । पाँच खेलबाट तीन अंक जोडेको काठमाण्डु चौथो स्थानमा रहेर प्लेअफ पुगेको हो । भैरहवा र पोखरा राइनोजको समान सात अंक रहेपनि भैरहवा रनरेटमा अघि थियो । तर लिग मा धेरै खेल जितेको आधारमा अंकतालिकामा अघि रहने प्रावधान रहेकोले पोखरा दोस्रो र भैरहवा तेस्रो स्थानमा रह्यो ।
पोखराले तीन खेल जित्दा एक खेलमा अंक बाँडेको थियो । भैरहवाले दुई खेल जित्दा तीन खेलमा अंक बाँडेको थियो । अब बुधबार हुने पहिलो क्वालिफायरमा चितवन र पोखराबीच खेल हुनेछ । यस खेलको विजेता फाइनल पुग्नेछ । खेल बिहान ९ः१५ बजे सुरु हुनेछ ।
प्रतिक्रिया