आइपुग्यो २८० सिट क्षमताको वाइडबडी जहाज, विमानस्थलमा मन्त्रीले गरे स्वागत

आइपुग्यो २८० सिट क्षमताको वाइडबडी जहाज, विमानस्थलमा मन्त्रीले गरे स्वागत


काठमाडौं – नेपाल वायुसेवा निगमले पहिलोपटक वाइडबडी विमान नेपाल भित्र्याएको छ । ‘ए ३३०–२००’ सिरिजको विमान बिहीबार बिहान त्रिभुवन अन्तर्राट्रिय विमानस्थलमा अवतरण गराएको हो ।

निगमले खरिद गरेको ’अन्न्पूर्ण’ नाम राखिएको ‘ए ३३०–२००’ सिरिजको यो जहाज २८० सिट क्षमता रहेको छ। यो जहाजको व्यावसायिक उडान भने आगामी अगस्ट १ गतेबाट हुनेछ। निगमले अमेरिकी कम्पनी एएआरसँग खरिद गरेका दुई वाइडबडी विमानमध्ये पहिलो विमान बिहिबार आएको हो। आउँदो महिना थप अर्को वाइडबडी जहाज पनि आइपुग्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बताए।

निगमले २०७३ चैत २५ गते अमेरिकी लिजिङ कम्पनी एएआरसँग दुई वाइडबडी ‘ए ३३०–२००’ एयरबस विमान खरिद गर्ने सम्झौता गरेको थियो। नयाँ वाइडबडी विमानबाट दक्षिण कोरिया, जापान, अस्ट्रेलिया, लण्डनजस्ता गन्तव्यमा उडान गर्ने योजना रहेको निगमले जनाएको छ।

जहाजको स्वागत गर्न मन्त्री अधिकारी, निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार लगायतका अधिकारी विमानस्थल पुगेका थिए।
विमान फ्रान्सको तुलुजुबाट ९ घण्टाको उडानपछि काठमाडौं आइपुगेको नेपाल वायु सेवा निगमले जनाएको छ । दुईवटा खरिद गरिएको मध्ये दोस्रो विमान डेढ महिना पछि आउने निगमले जानकारी दिएको छ ।