सामुदायिक लघुवित्त काभ्रेमा साढे २ करोड घोटाला, सीइओ र अध्यक्षसहित ४ जना पक्राउ

सामुदायिक लघुवित्त काभ्रेमा साढे २ करोड घोटाला, सीइओ र अध्यक्षसहित ४ जना पक्राउ

प्रतिकात्मक तस्वीर

काठमाडौं – सामुदायिक लघुवित्त वित्तीय संस्था साँगा, काभ्रेको सञ्चालक समिति र तत्कालीन प्रमुख कार्यकारी अधिकृत(सीइओ) लाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ४ जनालाई बैंकिङ कसुर अन्तर्गत पक्राउ गरेको छ ।

सिआइबीका अनुसार मिलेमतोमा सामुदायिक लघुवित्त वित्तीय संस्थालाई २ करोड ५० लाख भन्दा बढी नोक्सानी र्पुयाउने सञ्चालक समितिका अध्यक्ष, तत्कालीन सीइओलगायतलाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा तत्कालीन सीइओ स्वयम्भु राम जोशी, सञ्चालक समितिका अध्यक्ष हिरा विश्वकर्मा तथा सदस्य चण्डेश्वरी प्रधान र बटुकृष्ण कार्की रहेका छन् । उनीहरुलाई पक्राउ गरी उच्च अदालत पाटनबाट ७ दिनको म्याद थप गरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

ब्यूरोको अनुसन्धानले तत्कालीन सीइओ जोशीको आफ्नै संस्था नेपाल महिला उत्थान केन्द्रलाई आधिकारिक निकायको स्वीकृति बिना मिलोमेतोमा गुडविलको रुपमा भन्दै २ करोड ५० लाख रकम प्रवाह गरेको देखाएको छ ।

उनले राष्ट्र बैंकको नीति निर्देशन तथा ऐन कानुन विपरीत तलब भत्ता लगायतको विभिन्न शीर्षकमा आफू खुसी ७ लाख ४४ हजार भन्दा बढी भुक्तानी लिएको, जोशीलाई नियामक निकायको निर्देशनको अवज्ञा हुने गरी मिलिमेतोमा सञ्चालक समितिले प्रमुख कार्यकारीको पदमा नियुक्ति गरी अनियमितता गरेको र संस्थाले आर्थिक कारोबार गर्दा अपारदर्शी ढंगले कारोबार गर्ने गरेको उल्लेख छ ।