रसुवागढी जलविद्युत आयोजनाकाे सुरुङ निर्माण तीव्र

रसुवागढी जलविद्युत आयोजनाकाे सुरुङ निर्माण तीव्र


रसुवा – उत्तरी रसुवाको सीमावर्ती क्षेत्रमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ ।

रसुवागढी आयोजनाका प्रमुख छविलाल गैरेका अनुसार सुरुङको कुल लम्बाइ चार हजार २०३ मिटरमध्ये तीन हजार ९५३ मिटर निर्माण भइसकेको छ । एक सय ११ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाको संरचनानुसार तीन युनिटमध्ये पहिलो युनिटबाट सन् २०१९ भित्र र अन्य युनिटबाट सन् २०२० भित्र उत्पादन गरिसक्ने लक्ष्य लिइएको बताइएको छ ।

१३ अर्ब ६४ करोड ४० लाखको लागतमा सन् २०१४ देखि निर्माण शुरु भएको आयोजनामा भूकम्पले बाहिरी सतहमा लामो समयसम्म बाधा पु¥याएको र तत्कालीन अवस्थामा पेट्रोलियम पदार्थको अभाव एवं स्याफ्रु–रसुवागढी राजमार्गमा आएको पहिराका कारण सामान तथा उपकरण समयमा ढुवानी गर्न असहज भएका कारण निर्माणको समयावधि लम्बिन गएको आयोजनाले जनाएको छ ।

आयोजना सम्पन्न भएपछि वार्षिक रुपमा ६१ करोड ४० लाख युनिट विद्युत् निरन्तर उत्पादन हुनेछ । भोटेकोशी र लेहेन्दे खोलाको पानी सदुपयोग गर्दै आयोजना निर्माण हुन लागेको र अहिलेसम्मको समग्र प्रगति ६२ प्रतिशत पूरा भइसकेको आयोजना प्रमुख छविलाल गैरेले बताउनुभयो । ठेकदार कम्पनी सिडब्लुई चाइनाअन्तर्गत २६० चिनियाँसहित ७६० कामदार संलग्न रहेको आयोजनाले जनाएको छ ।