काठमाण्डु – आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको छनोट प्रतियोगिताको तयारीका लागि नेपाली टोली आज बङ्गलादेश प्रस्थान गरेको छ । नेपाली टोलीले बङ्गलादेशमा एक साता तयारी गर्ने छ ।
बङ्गलादेशमा रहँदा नेपाली टोलीले चार अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । नेपाली टोलीले यही कात्तिक २५ गतेसम्म बङ्गलादेशमा अभ्यास गर्ने छ । नेपाली टोलीको कप्तानी रुबिना क्षेत्रीले गरेका छन् ।
टोलीका अन्य खेलाडीमा सीता रानामगर, करुणा भण्डारी, डली भट्ट, इन्दु बर्मा, सरिता मगर, ज्योति पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सवनम राई, कविता कुँवर, अप्सरी वेगम, कविता जोशी र संगीता राई रहेका छन् ।
यस्तै सरस्वती जीएम, रोमा थापा, अस्मिना कर्माचार्य र ममता चौधरीलाई वैकल्पिक खेलाडीका रुपमा राखिएको छ । नेपाली टोलीको प्रशिक्षकमा जगत टमाटा र व्यवस्थापकमा जयन्ती भट्ट रहेका छन् ।
आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको छनोट प्रतियोगिता आगामी मङ्सिर ३ देखि १३ गतेसम्म युनाईटेड अरब इमिरेटस् (युएई) मा हुनेछ । उक्त प्रतियोगितामा नेपालसहित युएई, भुटान, कुवेत, हङकङ र मलेसियाले प्रतिष्पर्धा गर्नेछन् ।
नेपालले पहिलो खेल मङ्सिर ६ गते हङकङसँग, दोस्रो खेल मङ्सिर सात गते भुटानसँग, तेस्रो खेल मङ्सिर नौ गते कुवेतसँग, चौथो खेल मङ्सिर १० गते मलेसियासँग तथा पाँचौँ खेल मङ्सिर १२ गते युएईविरुद्ध खेल्ने तय भएको छ । प्रतियोगिताको शीर्ष टोली आगामी वर्ष हुने ग्लोबल क्वालिफायरका लागि छनोट हुनेछ ।
प्रतिक्रिया