काठमाण्डु – नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको तयारीमा जुटेको छ । गत वर्ष मंसिर १८ मा पहिलो त्रैमासिक समीक्षा गरेको केन्द्रीय बैंकले यो पटक त्यो भन्दा पहिला नै समीक्षाको तयारी गरेको हो ।
राष्ट्र बैंकका एक उच्च अधिकारीले यसै हप्ताबाट तयारी थालिने जानकारी दिए । उनकाअनुसार यसपटकको समीक्षामा तरलताको अभावलाई मुख्य ध्यान दिइनेछ भने ४\१२ को नीतिले शेयर बजारका लगानीकर्तालाई समेत अफ्ठेरो परेकोले त्यसमा पुनरावलोकन गर्ने तयारी छ ।
बैंक तथा वित्तिय संस्थाहरुसंग लगानीयोग्य रकमको अभाव छ भने सरकारी खर्च समेत हुन नसकेका कारण केन्द्रीय बैंकमा रहेका सरकारी खातामा रकमको थुप्रिएर बसेको छ । अहिले पनि तरलताको अभाव भएको छ । त्यसैले यसको समाधान कसरी खोज्ने भन्नेमा राष्ट्र बैंकका अधिकारी जुटेका छन् ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिमा केन्द्रीय बैंकले एक जना व्यक्ति वा संस्थाले एक बैंक वित्तीय संस्थाबाट ४ करोड रुपैयां र बढीमा तीन संस्थाले १२ करोड भन्दा बढी शेयर धितोमा कर्जा लिएर शेयरमा नै लगानी गर्न नपाउने नीति ल्याएको थियो ।
केन्द्रीय बैंकको त्यस्तो नीतिपछि शेयर बजार ओरोला लागेको थियो । शेयर लगानीकर्ताहरु यो नीतिको विरोधमा आन्दोलनमा समेत गएका थिए । उनिहरुले अर्थमन्त्री र गर्भनर दुवैलाई भेटेरे यो नीति हटाउनुपर्ने माग राखेका थिए । तर, गर्भनर अधिकारीले अहिले उक्त नीति हटाउन सम्भव नभएकाले पहिलो त्रैमासिक समीक्षामा ध्यान दिने आश्वासन दिएका थिए ।
गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री जनार्दन शर्मालाई ४\१२ नीतिमा पुनरावलोकन गरिदिन लगानीकर्ताहरुले बारम्वार आग्रह गरिरहेका छन् । अर्थमन्त्री शर्मा यसमा सकरात्मक रहेको बताइन्छ ।
कुल कर्जाको २ प्रतिशत पनि शेयर बजारमा लगानी नभएको अवस्थामा ४\१२ नीति आवश्यक नभएको अर्थमन्त्रीको धारणा रहेको स्रोत बताउंछ । उनले गर्भनर अधिकारीलाई त्रैमासिक समीक्षामा यसमा पुनरावलोकन गर्न सुझाव दिएको निकट स्रोतको दावी छ ।
प्रतिक्रिया