काठमाण्डु – तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ पाकिस्तान ओपन इन्टरनेसनल जी वान तेक्वान्दो च्याम्पियनसिपमा उत्कृष्ट निर्णायक घोषित भएका छन् ।
यही कात्तिक २० देखि २२ गतेसम्म पाकिस्तानको इस्लामाबादमा भएको प्रतियोगितामा नेपालबाट ६ सहित करिब ५० निर्णायकको सहभागिता रहेको थियो । चार वटा एरिनामा खेल खेलाइएकोमा समग्रमा उत्कृष्ट निर्णायक घोषित भएको श्रेष्ठले जानकारी दिए ।
नेपालबाट प्रतियोगितामा श्रेष्ठसहित अशोक खड्का, मीन न्यौपाने, रवीन्द्र मल्ल, जितसिंह लामा र दीपेन्द्र ढकालले निर्णायकको भूमिका निर्वाह गरेका थिए । श्रेष्ठ यसअघि २०१९ को जुलाइमा जोर्डनमा भएको एशियाली तेक्वान्दो च्याम्पियनसिपमा पनि उत्कृष्ट निर्णायक चुनिएका थिए ।
श्रेष्ठ १३ औँ दक्षिण एशियाली खेलकूद (साग) को नेपाली तेक्वान्दो टोलीका मुख्य प्रशिक्षक पनि हुन् । उक्त सागको तेक्वान्दोमा नेपालले १२ स्वर्ण, ६ रजत र ११ कास्य पदक जितेको थियो । २७ खेल समावेश सागमा नेपाललाई सबैभन्दा बढी पदक दिलाउने खेल तेक्वान्दो हो ।
पाकिस्तानको प्रतियोगितामा ६ खेलाडी तथा समान १–१ प्रशिक्षक र अफिसियल पनि नेपालबाट सहभागी भएका थिए । सबै खेलाडी पदकविहीन रहे ।
प्रतिक्रिया