वनमन्त्री–जापानी राजदूत भेटवार्ताः स्वच्छ वातावरण अभियानमा सहयोग गर्न आग्रह

वनमन्त्री–जापानी राजदूत भेटवार्ताः स्वच्छ वातावरण अभियानमा सहयोग गर्न आग्रह


काठमाडौं – वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतसँग नेपालका लागि जापानी राजदूत मासासी ओगावाले मंगलबार शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उनीहरुबीच द्विपक्षीय हितका विविध विषयमा छलफल भयो । सो अवसरमा मन्त्री बस्नेतले जापान नेपालको असल मित्र भएको चर्चा गर्दै नेपालको पूर्वाधार निर्माण, यातायात, स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण र फोहोरमैला व्यवस्थापनमा निस्वार्थ सहयोग गर्दै आएको भन्दै धन्यवाद व्यक्त गरे ।

जापानले नेपाललाई अप्ठेरो परिस्थितिमा सदैव मद्दत गर्दै आएको स्मरण गर्द मन्त्री बस्नेतले वैशाख महाभूकम्पपछि उद्धार, राहत तथा पुनःनिर्माणमा गरेको सहयोग नेपाल सरकार र नेपाली जनताले कहिल्यै भुल्न नसक्ने स्पष्ट पारे । मन्त्री बस्नेतले नेपाल लामो राजनीतिक संक्रमणबाट मुक्त भएको र अबको बाटो विकास र समृद्धितर्फ केन्द्रित गरिएको भन्दै जापानका तर्फबाट त्यस कार्यमा सहयोग हुने विश्वास व्यक्त गरे ।

मन्त्री बस्नेतले आफ्नो मन्त्रालयले वन संरक्षणमा जनताको सहभागितालाई उच्च महत्वमा राखेको भन्दै प्राकृतिक सम्पदाहरुबाट प्राप्त लाभहरुको समन्यायिक वितरणमार्फत रोजगारीको सिर्जना र जनताको जीवनस्तरमा सुधार ल्याउने गरी काम थालिएको स्पष्ट गरे । यस्तै उनले विश्व वातावरण दिवस–२०७५ का दिन घोषणा गरिएको नेपाल स्वच्छ वातावरण महाअभियानमा सहयोगका लागि आग्रहसमेत गरे ।

राजदूत मासासीले काठमाडौं, उपत्यकाको फोहोर व्यवस्थापनका लागि नुवाकोटको ओखरपौवामा जापान सरकारको सहयोगमा निर्मित ल्याण्डफिल साइड फोहोरले भरिएको उल्लेख गर्दै त्यसको विकल्पमा सोच्न आग्रह गरे । चुरे क्षेत्रको संरक्षण, उपत्यकाको फोहोरमैला व्यवस्थापन, तथा जलाधार संरक्षणका क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।