गृहमन्त्री थापाका घोषणा नारामा मात्र सिमित : चर्चाकै लागी मात्र काम गरेको आरोप

गृहमन्त्री थापाका घोषणा नारामा मात्र सिमित : चर्चाकै लागी मात्र काम गरेको आरोप


काठमाडौं – गृहमन्त्री रामबहादुर थापामाथी चर्चाको लागी मात्र काम गरेको आरोप लागेको छ । उनको समर्थनमा समाजिक संजालमा निकै प्रशंसा गर्नेहरु यतिवेला उनको आलोचना गर्न थालेका छन् ।

थापाले सुरुमा निकै आक्रमक रुपमा काम गरेपछि सवैतिर उनको चर्चा भएको थियो । तर,पछिल्लो समय उनले आफ्नो मन्त्रालयको कार्यक्षेत्रभन्दा बाहिर गएर काम गर्न थालेपछि बिवादमा आएका छन् । थापाले सिन्डिकेट पक्षधर यातायात व्यवसायीलाई कारबाही गर्ने अभियान सुरु गरेका थिए ।

त्यसका साथै एनजिओका पदाधिकारीहरुको सम्पत्ति छानबिन गर्न भन्दै सार्वजनिक सूचना समेत जारी गर्न निर्देशन दिएका थिए । तर,पछिल्लो समय उनि आफुले सुरु गरेका सबै निर्णयबाट पछि हट्न थालेका छन् । थापाले प्रधानमन्त्रीको निर्देशनमा सुन तस्करीको अनुसन्धान अघि बढाउने काम गरेका थिए ।

उनले काम नगर्ने ठेकेदारमाथी समेत कारवाही गर्ने भन्दै नामावली समेत संकलन गरेका थिए । तर,उनको त्यो अभियान समेत पछिल्लो समय रोकिएको छ । ‘कुनै ठोस योजना विना काम सुरु गर्ने र चर्चाकै लागी मात्र काम थालेपछि कहाबाट दिगो हुन्छ ।’ मन्त्रालयका एक अधिकारीले काठमाडौंपाटीसंग भने ।

सिन्डिकेट पनि चर्चाकै लागी मात्र
यातायातमा सिन्डिकेट गर्नेहरुमाथी कडा रुपमा प्रस्तुत भएका गृहमन्त्री थापा पछिल्लो समय के गर्ने भन्नेमा अन्यौलमा छन् । उनले सिन्डिकेट तोड्ने घोषणा गरेपनि यातायात क्षेत्रमा सुधारको भने कुनै संकेत देखिएको छैन् । त्यतिमात्र होईन सर्वसाधारणले त्यो भन्दा बढी समस्या अहिले भोगिरहेका छन् ।

यात्रुहरुले सार्वजनिक यातायातमा सहज यात्राको अनुभूति नगरेको गुनासो गर्ने गरेका छन् । उनले हचुवाको भरमा समितिहरुको सम्पत्ति छानविन गर्ने निर्णय समेत गरेका थिए । तर पछिल्लो समय छानविन प्रक्रिया समेत अघि बढेको छैन् । आगामी बर्षदेखी यातायात समितिहरु नविकरण नगर्ने निर्णय समेत लागु गर्न उनि सकिरहेका छैनन् ।

ठेकेदारमाथिको कारबाही रोकियो
काम नगर्ने ठेकेदारलाई कारवाही गर्ने थापाको घोषणा समेत फितलो भएको छ । उनले ठेक्का अवधिमा काम पुरा नगर्ने एंवम् गुणस्तरअनुसार काम नगर्ने ठेकेदारलाई कारवाही गर्ने घोषणा समेत गरेका थिए । त्यसका लागी सवै जिल्ला प्रशासन कार्यालयलाई काम नगर्ने ठेकेदारहरुको विवरण समेत संकलन गर्न निर्देशन दिएका थिए ।

तर,पछिल्लो समय एक जना ठेकेदारमाथी कारवाही समेत भएन् । उनले केही ठेकेदारलाई सार्वजनिक मुद्दा लगाएपनि पछिल्लो समय भने उनि आफै सेलाएका छन् । स्पष्ट कानुनी व्यवस्था विना ठेकेदार प्रक्राउ गर्नु नै गल्ती रहेको गृहकै अधिकारीहरु बताउंछन् । थापाले ठेकेदारहरुका जायज मागहरुको सुनुवाई नगरी हचुवाका भरमा घोषणा गरेको कतिपयको आरोप छ । गृहमन्त्री थापाले ठेकेदारलाई तर्साउने बाहेक अरु केही काम नगरेको उनकै पार्टीका नेताहरु समेत आरोप लगाउछन् ।

प्रहरीको सरुवामा भद्रगोल
गृहमन्त्री थापाले नेपाल प्रहरी र सशस्त्र प्रहरीको सरुवा भ्रदागोल गरेको आरोप छ । संगठनमा व्यवसायीक छवि भएका अधिकृतहरुलाई बढुवा र सरुवामा उनकै कार्यकालमा अन्याय भएको गुनासो पनि सुरक्षा निकायमा व्याप्त छ । त्यसका साथै प्रमुख जिल्ला अधिकारीहरुको सरुवा समेत बर्ष दिन नपुग्दै हचुवाका भरमा गरेको आरोप पनि मन्त्री थापामाथी छ ।

त्यसैगरी प्रहरीका कार्यालय प्रमुखको सरुवा पनि नियम विपरित भएको प्रहरीकै उच्च अधिकारी बताउछन् । प्रहरी प्रमुख सर्वेन्द्र खनाल निकट अधिकृतहरु नै सरुवा र बढुवामा पछि परेका छन् । खनालले नै आफु केही गर्न नसक्ने लाचार अभिव्यक्ति दिने गरेको उनि निकट स्रोतको दाबी छ । गत बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक खनालले सबै कुरा आफूले सोचेजस्तो नहुने भन्दै आफूमाथि दबाव रहेको संकेत गरेका थिए ।

उनले प्रहरी र प्रशासनमा सुधारको कुनै कार्ययोजना नल्याएको बरु सबै ध्यान सरुवा,बढुवा र चर्चामा आउने काममा मात्र दिएको आरोप छ । गृहमन्त्रीसंग बलियो काम गर्ने टिम नभएकोले समेत समस्या परेको धेरैको गुनासो छ । उनलाई नक्कली सर्टिफिकेटको आरोप लागेर सेनाबाट निकालिएका जर्नेल कुमार फुदुङले सल्लाह दिने गरेका छन् ।

एनजिओलाई कस्ने योजना हावा गफ
गृहमन्त्री थापाले एनजिओका पदाधिकारीमाथी छानविन गर्ने घोषणा गरेको दुई साता बितिसक्दा समेत कुनै प्रगती देखिएको छैन् । गृहमन्त्रालयले संस्था नवीकरण गर्दा संस्थाका पदाधिकारीहरुको सम्पत्ति विवरण समेत बुझाउनुपर्ने निर्णय गरेपछि त्यसको सवैतिर प्रशंसा भएको थियो ।

मन्त्रालयले गोरखापत्रमै सार्वजनिक सूचना प्रकाशित गरेर विवरण बुझाउनुपर्ने परिपत्र जारी गरेको थियो । तर, उनीहरुको सम्पत्ति विवरण बुझाउनु नपर्ने भन्दै जिल्ला प्रशासन कार्यालयहरुमा फेरी अर्काे परिपत्र जारी गरेपछि उनको सर्वत्र आलोचना भएको हो । गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदले मन्त्रालयले घोषणा गरेका सबै योजना कार्यान्वयन हुने दाबी गरे । उनले मन्त्रालयको अभियना सुस्त नभएको समेत बताए ।

चर्चाकै लागी काम,परिणाम सुन्य
रक्षामन्त्री हुंदा विग्रिएको छवि पछिल्लो समय केही हदसम्म भएपछि सुध्रिएको थियो । तर, घोषणा गर्ने तर कार्यान्वयन नगर्ने उनको स्वभावका कारण भने पछिल्लो समय गृहमन्त्री आलोचित हुन थालेका छन् ।

काठमाडौंमा ट्राफिक क्षेत्रको समस्या सुधार गर्ने, बिदाको दिन चलेका सरकारी सवारी साधनलाई नियन्त्रणमा लिने, पिएसओका नाममा नेता र पूर्वप्रहरीको घरमा खटाइएका सुरक्षाकर्मी फिर्ता गराउने,अध्यागमन सुधार गर्ने,देशभरि गुन्डाहरुको सूची बनाएर कारबाही गर्ने र लागूऔषध र घरेलु मदिराको अवैध कारोबार रोक्न देशव्यापी अभियान सुरु गर्ने लगायतका दुई दर्जनभन्दा बढी लोकप्रिय योजना घोषणा गरेका गृहमन्त्री थापा यतिवेला घोषणा गर्ने तर काम नगर्ने मन्त्रीका रुपमा चिनिन्छन् ।