काठमाण्डु – आइसिसी टी-२० महिला विश्वकपअन्तर्गत एसिया छनोटमा हङकङसँग नेपाल पराजित भएको छ । सोमबार दुबईमा भएको खेलमा नेपाललाई हङकङले ६ विकेटले पराजित गरेको हो ।
नेपालले दिएको १०५ रनको लक्ष्य हङकङले १८ ओभरमा ४ विकेट गुमाएर पार गर्यो । हङकङको जितमा ओपनर मारिको हिलले नटआउट ४४ रन जोडिन् । उनले ४२ बलमा ४ चौका प्रहार गरिन् ।
नतासा माइल्सले १६ रन, केरी चानले १७ रन र इमा लाइले नटआउट १३ रनको योगदान दिए । बलिङमा नेपालकी कविता कुँवर, सीता रानामगर र सबनम राईले १-१ विकेट लिए । छनोटमा नेपालले घरेलु टोली युएई, भुटान, कुवेत, हङकङ र मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । छनोटबाट एक टिम विश्व छनोटमा पुग्नेछ ।
प्रतिक्रिया