अवैध कामदारमाथि मलेसियन सरकार आक्रामक, २ सय नेपालीसहित १४ सय कामदार पक्राउ

अवैध कामदारमाथि मलेसियन सरकार आक्रामक, २ सय नेपालीसहित १४ सय कामदार पक्राउ


काठमाडौं – गैरकानुनी रुपमा बसिरहेका आप्रवासी कामदार पक्रिने अभियान अन्तर्गत हालसम्म मलेसिया सरकारले २ सय नेपालीसहित १४ सय जना विदेशी आप्रवासीलाई पक्राउ गरेको छ।

मलेसियामा गैरकानुनी रुपमा काम गरिरहेका २ सय नेपाली पक्राउ परेका मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ।दूतावासले अवैधानिक रुपमा बसेर काम गरिरहेका नेपालीलाई तत्काल दूतावासको सम्पर्कमा आउन समेत अपिल गरेको छ। दूतावासका अनुसार पक्राउ परेका कामदारको मुद्दाको टुंगो लागेपछि मात्रै नेपाल फर्काइने बताइएको छ।

हाल अवैधानिक रुपमा बसेर काम गरिरहेका के–कति नेपाली धरपकडमा परेका छन् भनेर विवरण लिने काम भइरहेको मलेसियास्थीत नेपाली दूतवासका कार्यवाहक राजदूत कुमारराज खरेलले जानकारी दिए ।यसरी पक्राउ परेका आप्रवासी कामदारलाई ८ देखि १० हजार रिंगेट जरिवाना र दुई महिनासम्मको जेल हुनसक्ने मलेसिया सरकारको कानुनी व्यवस्था रहेको छ।

मलेसियाको गृह मन्त्रालय र अध्यागमन विभागले आइतबारदेखि राजधानी क्वालालम्पुरका जलान तुन रजाक, सेन्ट्रल मार्केट, पासार सेनी, लेबु पुडु, मेडान पासार, पेतालिङ स्ट्रिट र जलान सिलाङमा धरपकड गरेको मलेसियन सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। नेपाली तथा बंगलादेशका नागरिकले सञ्चालन गरेका होटल र रेस्टुरेन्टहरुमा पनि धरपकड गरिएको थियो।

धरपकड केही दिनसम्म चल्ने मलेसियाका गृह मन्त्रालयलाई उदृत गर्दै स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्। मलेसिया सरकारले हाल पक्रिएर हिरासतमा राखेका विदेशी कामदारको मुद्दा १४ दिनभित्रै टुंग्याएर स्वदेश फिर्ता गर्ने सम्बन्धी निकायलाई निर्देशन दिइसकेको छ।