जबर्जस्ती करणीपछि साथीको हत्या आरोपमा कैलालीमा ५ जना पक्राउ

जबर्जस्ती करणीपछि साथीको हत्या आरोपमा कैलालीमा ५ जना पक्राउ


कैलाली – कैलालीमा जबर्जस्ती करणीपछि हत्या अभियोगमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । गौरीगंगा नगरपालिका ११ शिवपुरका ३० वर्षका गणेश बडु्वाल, २७ वर्षका मनोज बोगटी, २१ वर्षका सुरज चौधरी, २० वर्षका भुवन खाती र १९ वर्षका तपेन्द्र बोगटी रहेका छन् ।

उनीहरुमध्ये गणेश बडुवाल र मनोज बोगटी मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ । मृतक विक असार ५ गतेदेखि गौरीगंगा नगरपालिकाकी सामाजिक परिचालक थिइन् । हत्या आरोपित बडुवाल र सुरज चौधरीसमेत सोही पदमा कार्यरत थिए ।

गएको असार १२ गतेदेखि हराएकी कैलाली गौरीगंगा नगरपालिका ११ कि २१ वर्षकी माया विक असार १५ गते मृत अवस्थामा भेटिएकी थिइन् । उनको शव चपरथली सामुदायिक वनभित्र जबर्जस्ती करणीपछि हत्या भएको अवस्थामा भेटिएको कैलालीका प्रहरी प्रमुख एसपी विनोद घिमिरेले जानकारी दिए ।

त्यहाँ पहिले नै पुगेका बोगटीद्वय र खातीले पालैपालो बलात्कार गरेको बयान दिएको प्रहरीले जानकारी दिएको छ । मायाको मृत्यु भएपछि लास त्यही छोडेर भागेका थिए । आफन्तले माया हराएको भन्दै असार १४ गते प्रहरीलाई निबेदन दिएका थिए ।