रामेछाप – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली भारत र चीनसंग लम्पसार परेको आरोप लगाएका छन् ।
प्रेस युनियन, रामेछापले जिल्ला सदरमुकाम मन्थलीमा शनिबार बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा देउवाले भने, ‘पूर्ववती सरकारका निर्णय उल्ट्याएर सरकार मुठभेड निम्त्याउन खोजिरहेको छ’, ‘यो प्रजातान्त्रिक मान्यतालाई कुल्चिएर चालिएको निरंकुशता उन्मुख कदम हो ।’
देउवाले आफ्नो सरकारले गरेका नियुक्ति खारेज गर्ने ओली सरकारको कदम कुनै हातलमा स्वीकार नगर्ने प्रष्ट पारे । ‘सरकार हरेक क्षेत्रलाई नियन्त्रण र कब्जा गर्ने हिसावले उत्रिएको छ, यसको कांग्रेसले कडा प्रतिवाद गर्छ ।’फरक प्रसंगमा बोल्दै देउवाले वर्तमान सरकार भारत र चीनसंग लम्पसार परेको आरोप समेत लगाए ।
चीनबाट रेल ल्याउने चर्चा चलिरहेका बेला उनले त्यसलाई ‘सपना’को संज्ञा दिए । ‘चीनबाट रेल ल्याउने कुरा प्रधानमन्त्री ओलीले गरिरहनु भएको छ, यो केबल सपना मात्रै हो, पूरा हुंदैन’, देउवाले भने । देउवाले अनशनरत डा. गोविन्द केसीको सत्याग्रहमा सरकारले अवरोध पुर्याएको घटनाप्रति समेत आपत्ति जनाए ।
प्रतिक्रिया