जनताको घरघरमा विद्युतीय चुलो पुर्याउछौ : ऊर्जामन्त्री पुन

जनताको घरघरमा विद्युतीय चुलो पुर्याउछौ : ऊर्जामन्त्री पुन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर– ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले देशमा सिँचाइ र ऊर्जाको विकास भए सहज रुपमा विकास हुने बताएका छन्।

चाँगुनारायण नगरपालिकाको तेस्रो नगरसभाबाट पारित आब २०७५-७६ को नीति, बजेट तथा कार्यक्रमको सार्वजनिकीकरण कार्यक्रममा उहाँले सिँचाइ र ऊर्जा विकासका लगानी बढाएको बताएका हुन् ।

उनले भने, “मन्त्रालयले विद्युत् प्रशारण लाइनको विकास र विस्तारका लागि २० वर्षको गुरुयोजना बनाएर पेश गरेको छ, अब देशमा सिँचाइ र ऊर्जाको विकासमा देश अगाडि बढ्छ ।”

सरकारले आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने र जनताको घरघरमा विद्युतीय चुलो र सवारी साधन पु¥याउने लक्ष्य लिएको उनको भनाइ थियो ।

मन्त्री पुनले भने, “सरकारले यसवर्ष मात्रै भारतबाट सवा खर्ब रुपैयाँभन्दा बढीका पेट्रोलियम पदार्थ आयात गरेको छ, रु २८ अर्बको मात्रै ग्याँस आयात गरेको छ, रु १८ अर्बको विद्युत् आयात गरेको छ, व्यापार घाटा मात्रै रु नौ खर्ब भएको छ, विदेशिएका नेपालीको सात अर्बभन्दा बढीको विप्रेषणले धानिरहेको छ व्यापार घाटा ।”

देशको अर्थतन्त्र भयावह रहेको भन्दै उनले सरकारले त्यसको अन्त्य गर्ने बताए। उनले भने, “विगतका सरकारले अर्थतन्त्र नै भयावह हुने गरी बनाएको खाल्डो वर्तमान सरकारले पुर्छ।”

देश संघीय संरचनाअनुसारको नयाँ व्यवस्था कार्यान्वयनको चरणमा रहेकाले यसलाई सफल बनाउने अभ्यास भइरहेको उनको भनाइ थियो। पाँच वर्षपछि फेरि जनतामाझ जानुपर्ने भएकाले पारदर्शी भएर काम गर्नुपर्नेमा जोड दिँदै उहाँले भ्रष्टाचार, अराजकतालाई अन्त्य गर्नु जरुरी रहेको औँल्याए।

चाँगुनारायण नगरपालिकाको कार्यालय स्थापनाका लागि खरिपाटीमा रहेको विद्युत् प्राधिकरणको तालीम भवन वा जग्गा नगरपालिकालाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।  त्यसअवसरमा मन्त्री पुनले नगरपालिकाको पुस्तिका एवं मोबाइल एप्सको समेत सार्वजनिक गरे।

प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले जिल्लाको विकासका लागि अन्तरनगर सम्बन्ध बनाएर तीनवटै तहको सरकारबाट बढीभन्दा बढी बजेट ल्याउने कार्य गर्नुपर्नेमा जोड दिए।

सो अवसरमा नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले आव २०७५-७६ को लागि कूल  ९६ करोड २८ लाख ७९ हजारको बजेट सार्वजनिक गरे। रासस