एनसेल र राकुटेन भाइबरबीच सम्झौता, ग्राहकले विभिन्न सुविधा निशुल्क पाउने

एनसेल र राकुटेन भाइबरबीच सम्झौता, ग्राहकले विभिन्न सुविधा निशुल्क पाउने


काठमाण्डु – एनसेल आजियाटा लिमिटेड र राकुटेन भाइबरले एनसेलका ग्राहकहरुलाई विशेष डाटा प्याकेज प्रदान गर्न सम्झौता गरेको छ ।यस सम्झौताअन्तर्गत ग्राहकले धेरै रुचाएका चार प्याकहरु हिरो प्याक, ननस्टप यूट्युव, ट्रीपल मजा र एसएमएस प्याकको खरिदमा ग्राहकले अब भाइबर चलाउनका लागि थप छुट्टै डाटा निःशुल्क पाउँनेछन् ।

यी प्याकहरुका साथ भाइबर म्यासेजिङका लागि पाइने डेटामा कुनै अतिरिक्त शुल्क नलाग्ने र पहिलेदेखिकै प्रिपेड र पोस्टपेड डाटा प्याकेजमा वैकल्पिक ‘एड–अन’ को रूपमा उपलब्ध हुने एनसेलले जनाएको छ ।

यो नयाँ अफरसँगै अब भाइबरका सुविधाहरू जस्तै भाइबर म्यासेजिङ, स्टिकर, नयाँ अगमेन्टेड रियालिटी (एआर) लेन्सहरू प्रयोग गर्नका लागि थप डेटामा एनसेलका ग्राहकहरुको पहुँच सुनिश्चित भएको छ । भाइबरले प्रयोगकर्ताको डाटा गोपनीयता संरक्षण गर्न सुरक्षा पनि परिष्कृत गरेको छ ।

त्यस्तै एनसेल ग्राहकहरुले भाइबरको स्टिकरहरुमा निःशुल्क पहुँच पाउँछन् र खरिद गरेपछि मात्र पाइने ‘पेड स्टिकर प्याक’ पनि विशेष गरी एनसेल ग्राहकका लागि निःशुल्क उपलब्ध छ ।

‘डिजिटल जीवनशैली सक्षम पार्ने हाम्रो निरन्तर यात्राको एक प्रयासका रूपमा हामीले हाम्रा ग्राहकहरूलाई नेपालको एक अग्रणी निःशुल्क म्यासेजिङ एपहरूमध्येको एक भाइबरमा निःशुल्क पहुँचको फाइदा दिन सहकार्य गरेका छौँ’, एनसेलका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने, ‘हामी यस साझेदारीबाट साँच्चिकै उत्साहित छौँ र नेपाली उपभोक्ताहरूलाई सेवाबाट फाइदा दिन थप अवसरहरू सिर्जना गर्ने योजनामा छौँ।’

एनसेलले पहिले नै भाइबरमा आफ्ना ग्राहकहरूका लागि समर्पित समुदाय र डिजिटलबाट सेवा उपलब्ध गराउँदै आएको छ । यस सम्झौताले निकट भविष्यमा अगमेन्टेड रियालिटी (एआर) मा आधारित लोकजाइज्ड भाइबर लेन्सको पनि सुरुवात पनि गर्ने एनसेलले जनाएको छ ।

राकुटेन भाइबरका वरिष्ठ निर्देशक डेभिड चेले भने, ‘उच्च गुणस्तरका आधुनिक सेवाहरू उपलब्ध गराउँदै आफ्नो नेटवर्क र म्यासेजिङ प्लेटफर्ममार्फत मानिसहरूलाई जोड्ने भाइबर र एनसेलको लक्ष्यबीच ठूलो तालमेल रहेको छ । हामीलाई विश्वास छ यो साझेदारीले हामीलाई नेपालमा आफ्नो पहुँच विस्तार गर्न र मापन गर्न मद्दत गर्नेछ ।’

ग्राहकहरूले एनसेल एप, आफुलाई पायक पर्ने एनसेलको प्वाइन्ट अफ सेल्स, एनसेल सेन्टर वा एस्ट्रिक १७१२३ ह्यास डायल गरेर कुनै एक डाटा प्याक सुचारु गरि यो सुबिधा लिन सक्ने एनसेलले जनाएको छ ।