७२ घण्टे अल्टिमेटमपछि डा .केसीसँग फोनमै वार्ता गर्ने प्रधानमन्त्री ओलीको प्रयास

७२ घण्टे अल्टिमेटमपछि डा .केसीसँग फोनमै वार्ता गर्ने प्रधानमन्त्री ओलीको प्रयास


काठमाडौं – जुम्लामा अनसनरत रहेका डा. गोविन्द केसीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिफोन संवाद गर्ने तयारी गरेका छन् । डा.केसीसँग सम्वाद गर्न खोजेको वालुवाटार स्रोतले जानकारी दिएको छ ।

आइतबार चिकित्सक संघले प्रधानमन्त्री ओलीलाई भेटेर डा. केसीको जीवन रक्षा गर्न माग गरेको थियो । त्यसपछि प्रधानमन्त्री ओली आफैले डा. केसीसंग टेलिफोन संवाद गर्न खोजेका हुन् । तर त्यो अहिलेसम्म सम्भव भएको छैन् ।

प्रधानमन्त्री ओलीको निजी सचिवालयले डा. केसीसँग संवाद गर्नका लागि चिकित्सक संघलाई आग्रह गरेको छ । संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले त्यो सन्देश डा. केसीसामू पुर्याएका छन् । स्रोतका अनुसार प्रधानमन्त्री ओली आफैंले डा. केसीसँग फोनमा नै सम्वाद गर्न चाहेको स्रोतले बताएको छ ।

संघले ७२ घन्टे अल्टिमेटम दिएको छ । ७२ घण्टासम्म पर्खने र समाधान नभए आन्दोलनमा उत्रने चेतावनी दिएको छ । संघले आकस्मिक बाहेकका सेवा बन्द गर्ने चेतावनी समेत दिएको छ ।