लगानीकर्तालाई अर्थमन्त्रीको आश्वासनः शेयर बजारबारे विज्ञहरूसँग छलफल गर्दैछौं

लगानीकर्तालाई अर्थमन्त्रीको आश्वासनः शेयर बजारबारे विज्ञहरूसँग छलफल गर्दैछौं


काठमाण्डु – शेयर बजारप्रति नकारात्म अभिव्यक्ति दिएपछि आलोचना खेपेका अर्थमन्त्री जनार्दन शर्माले लगानीकर्ताहरुलाई आश्वास्त बनाउने प्रयास गरेका छन् ।

सोमबार बीमा समितको भवन उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले शेयर बजारका लगानीकर्ताको लगानी संरक्षण गर्न गम्भीर रहेको बताएका छन् ।

उनले शेयर बजार मन्त्रीले घटाउन/बढाउन भूमिका खेल्न नसक्ने र त्यसको कारण नियमनकारी निकायलाई मात्र थाहा हुने बताए । अहिले कुनै समूह यसबारे अफवाह फैलाउन लागिपरेको बताउँदै शर्माले त्यस्तो भ्रममा नपर्न लगानीकर्तालाई आग्रह गरे ।

‘तपाईंलाई एउटा भ्रम दिँदै ठग्लान्, ठगीमा पर्नुहोला’, शर्माले भने, ‘नठगिएर आफ्नो व्यवसाय गर्नुहोस्, त्यसमा अर्थमन्त्री र अर्थ मन्त्रालयले घटाइदिने/बढाइदिने भन्ने कुरा हुँदैन, यसले संस्थाहरूलाई पारदर्शी बनाउने र बलियो बनाउने, ऐन कानुनलाई व्यवस्थित बनाउने काम गर्ने हो । त्यसमा हामी लागेका छौँ ।’

शेयर बजारको समस्यालाई समाधान गर्न धेरै कुरामा सुधार गर्नुपर्ने देखिएकाले विज्ञहरूसँग त्यसका लागि छलफल भइसकेको र त्यसतर्फ काम भइरहेको समेत उनले जानकारी दिए ।

लगानीकर्ताले अनावश्यक रूपमा भोगिरहेको समस्या र लगानीलाई सुरक्षित गर्न आवश्यक नीति र प्रविधि विकासमा मन्त्रालय गम्भीर रूपमा लागेको मन्त्री शर्माले बताए । यसमा लगानीकर्तालाई ढुक्क हुनसमेत उनले आश्वस्त पारे ।