साफ महिला फुटबल च्याम्पियनसिप : आज नेपाल र भूटान भिड्दै

साफ महिला फुटबल च्याम्पियनसिप : आज नेपाल र भूटान भिड्दै


काठमाण्डु – उन्नाइस वर्षमुनि (यू–१९)को महिला साफ फुटबल च्याम्पियनसिपमा नेपालले आज भूटानसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

बङ्गलादेशको ढाकास्थित शहीद सिपाही मुस्तफा कमल रङ्गशालामा हुने उक्त खेलमा नेपाल जीतको लक्ष्यसहित भूटानसित मैदानमा उत्रँने छ । सो खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजे हुनेछ ।

भूटानविरुद्ध मैदानमा उत्रँदा नेपाल दोस्रो जीतको खोजीमा हुनेछ । फाइनल प्रवेशको सम्भावना बलियो बनाउनका लागि पनि नेपाललाई भूटानविरुद्धको खेल जित्नैपर्ने छ ।

जारी प्रतियोगितामा नेपाल दुई खेलमा ४ अङ्क जोड्दै तालिकाको तेस्रो स्थानमा छ । नेपालले पहिलो खेलमा बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलङ्कालाई ६–० गोलअन्तरले पराजित गरेको थियो ।

भूटानले तीन खेलबाट ३ अङ्क जोडेको छ । चौथो स्थानमा रहेको भूटानले पहिलो खेलमा श्रीलङ्कलाई ५–० गोलले पराजित गरेको थियो । त्यस्तै दोस्रो खेलमा बङ्गलादेशसँग भूटान ६–० गोलले पराजित भएको थियो भने तेस्रो खेलमा भारतसँग ३–० गोलअन्तरले पराजित भएको थियो ।

भारत दुई खेलमा जित हासिल गर्दै ६ अङ्क जोडेर शीर्ष स्थानमा छ । त्यस्तै समान दुई खेल खेलको बङ्गलादेश चार अङ्कका साथ दोस्रो स्थानमा छ भने पाँचाैंमा स्थानमा रहेको श्रीलङ्का लगातार तीन खेलमा हार बेहोर्दै अङ्कविहीन छ । श्रीलङ्का उपाधि होडबाट बाहिरिएको छ । पाँच राष्ट्र सहभागी उक्त प्रतियोगिताका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।