काठमाण्डु – सोमबार सेयर बजारमा दोहोरो अंकको सुधार भएको छ । आज नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक ५६ दशमलव ७३ अंकले बढेर दुई हजार ६१५ दशमलव ५५ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो ।
२२६ कम्पनीको ४९ लाख ७४ हजार २५३ कित्ता सेयर कारोबार हुँदा कुल दुई अर्ब ३८ करोड ३२ लाख ५९ हजार ८४७ रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार गर्नेमा हिमालयन डिष्ट्रिलरी छ । यो कम्पनीको आज १४ करोड ५८ लाखभन्दा बढीको कारोबार भएको छ ।
सबै समूहका सूचक शून्य दशमलव ८४ प्रतिशतदेखि तीन दशमलव ८८ प्रतिशतको हाराहारीमा बढेका छन् । नेप्सेका अनुसार ग्रीन डेभलपमेन्ट बैंक, जानकी फाइनान्स र रसुवागढी हाइड्रोपावरको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ।
ग्रीन डेभलपमेन्ट बैंकको सेयर १० प्रतिशतले बढेर प्रतिकित्ता ३४१ रुपैयाँ पुगेको छ भने जानकी फाइनान्सको सेयर मूल्य नौ प्रतिशतभन्दा धेरैले बढेर प्रतिकित्ता ५७१ रुपैयाँ र रसुवागढी हाइड्रोपावरको सेयर मूल्य प्रतिकित्ता ३५१ रुपैयाँ १० पैसा पुगेको छ ।
त्यस्तै, आज गोर्खाज फाइनान्सको सेयर मूल्यमा सबैभन्दा धेरै गिरावट आएको छ । यस कम्पनीको सेयर मूल्य आठ प्रतिशतभन्दा बढीले घटेको छ ।
अर्थ मन्त्रालयले स्थानीय तहको सञ्चित कोषको ८० प्रतिशत रकम बैंकहरूले निक्षेपको रूपमा गणना गर्न मिल्ने व्यवस्था गर्न निर्देशन दिँदा त्यसको प्रभाव सेयर बजारमा परेको हो ।
त्यस्तै तरलता अभाव झेलिरहेका बैंकहरूमा उक्त निर्देशनले तत्कालका लागि करिब ५० अर्ब रुपैयाँ लगानीयोग्य पुँजी उपलब्ध हुने भएपछि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा पनि देखिएको हो ।
यति मात्रै नभएर सोमबार नेपाल राष्ट्र बैंकले गाडी, मदिरालगायत विभिन्न वस्तुको आयात गर्न एलसी खोल्दा नगद राख्नुपर्ने व्यवस्था ग¥यो । उक्त नीतिले आयातमा केही कमी आएर तरलता बढ्ने अपेक्षा लिइएको हुँदा त्यसको प्रभाव पनि सेयर बजारमा देखिएको हो ।
प्रतिक्रिया